नेकपाको सरकार बनेपछि लोडसेडिङ अन्त्य भएको छ, सीमाको पनि रक्षा गर्छ: पूर्वप्रधानमन्त्री खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताएका छन् । चाँगुनारायणमा आज चुनावी कार्यक्रममा उनले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताए ।

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क)मा नेकपाले डिपी ढकलालाई उम्मेदवार बनाएको छ । उनले २१औँ शताब्दीको दोस्रो दशकमा पार गरिरहँदा पनि हाम्रो देशको सिमाना अङ्कित हुन नसक्नु विगतका सरकारले यसमा ध्यान दिन नसकेको प्रस्ट भएको भनाइ राखे ।



खनालले भने, “आज हामी कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि लडिरहेका छौँ, सुगौली सन्धिबाट हामीले प्राप्त गरेको भूमि विगतका सरकारले सुरक्षित गर्न सकेनन्, अब नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ, नेकपाको सरकार सीमा सुरक्षाको काम ऐतिहासिक रूपमा पूरा गर्न दृढरूपमा अगाडि बढेको छ ।”

देशमा प्रशस्त बिजुली र पानी भएर पनि देश अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य गरी विद्युत्भार कटौती मुक्त देश बनाउँदै सरकारले राष्ट्रव्यापीरूपमा विद्युतीकरण गर्ने योजना अगाडि बढाएको बताए । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता खनालले भने, “नेकपाको सरकार बनेपछि लोडसेडिङ अन्त्य भएको छ, नेकपाको नेतृत्वको युग शुरु भएपछि उज्यालोको युग शुरु भएको छ ।”

सम्बन्धित समाचार