प्रचण्डले बुहारी जोगाउन खोज्दा लम्बियो मन्त्रिपरिषद पुनर्गठन, अन्ततः ५ मन्त्रीमात्र फेरिने

प्रधानमन्त्री केपी ओलीले सोमबार नै मन्त्रिपरिषद पुर्नगठन गर्न खोजेका थिए । तर अन्तिम समयमा आएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले फेर्न लागिएका मन्त्रीका विषयमा बखेडा झिक्दा हिजो मन्त्रिपरिषद पुनर्गठन हुन सकेन । प्रचण्ड र नेपालकै सहमतिअनुसार ओलीले आज मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । प्रचण्डले खानेपानी मन्त्री बुहारी वीना मगरको पद जोगाउन खोज्दा हिजो मन्त्रीपरिषद् पुनर्गठन हुन नसकेको स्रोतको दावी छ ।

सोमबार साँझ ओली प्रचण्डको भेटवार्तामा केवल ५ मन्त्रीमात्र फेर्ने सहमति भएको छ । पूर्व एमाले तर्फका ३ र माओवादी तर्फका २ गरी केवल ५ मन्त्रीलाई मात्र मन्त्रिपरिषदबाट विदाइ गरिने भएको छ । प्रचण्ड र ओली निकट २-२ जना र नेपालनिकट १ मन्त्री हटाएर ५ जना नयाँ मन्त्री नियुक्ति गर्ने ओलीको तयारी रहेको छ ।



स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीतर्फबाट मन्त्री बनेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र पूर्व एमालेबाट महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकर्मा र भूमिसुधारमन्त्री पद्मा अर्यालको सट्टा नयाँ मन्त्री नियुक्ति गर्नेछन् ।

नयाँ मन्त्रीमा भने सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल र कृष्णगोपाल श्रेष्ठको चर्चा छ । यसअघि चर्चा भएजस्तो उपसभामुख शिवमाया तुम्हाफेलाई राजीनामा गराई मन्त्रिपरिषदमा सहभागि गराउने विषय हाललाई स्थगित भएको छ । दोस्रो चरणको पुनर्गठनमा शिवमायालाई मन्त्रिपरिषदमा ल्याएर नेकपाकै नेतालाई सभामुख बनाउने विषयमा ओली र प्रचण्ड सहमत भएका छन् ।

सम्बन्धित समाचार