सरकारले जनताबीच गरेका कुनै पनि वाचा पूरा गरेन : काँग्रेस नेता पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवानेता प्रदीप पौडेलले निर्वाचनअघि जनताका बीच गरेका कुनै पनि वाचा सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् । नेपाली काँग्रेसले आज चाँगुनारायण नगरपालिका–९, ताथलीमा आयोजना गररेको घरदैलो कार्यक्रममा उनले जनताको चाहना पूरा गर्न काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई निर्वाचित गर्नुपर्ने बताए ।

उनले बूढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट अतिरिक्त शुल्क लिएर खडा गरिएको कोषबाट नेपाल आफैँले निर्माण गर्ने भनिएको आयोजना सरकारले बिना प्रतिस्पर्धा चाइनिज कम्पनीलाई दिएको आरोप लगाए।



कार्यक्रममा नेपाली काँग्रेसका युवानेता एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले सरकारले जनचाहनाअनुरुप काम गर्न नसकेको आरोप लगाउँदै उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुने दाबी गरे ।

भोट माग्न आयोजना भएको घरदैलो कार्यक्रममा काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, नेपाली काँग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपाल, सचिव निशान ढुङ्गेल, क्षेत्रीय सभापतिहरु जीवन खत्री, नारायण खयमली लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार