सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उनले जानकारी दिए।
एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन । आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो । साथै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेकोले नयाँ मन्त्रीको नाम पनि बैठकले अनुमोदन गर्ने स्रोतको दावी छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ट नेता मधव नेपालको आग्रहमा प्रधानमन्त्रीले सोमबारै गर्ने भनिएको मन्त्रिमण्डल पुनर्गठनको तयारी बाट पछि हटेका थिए । स्रोतका अनुसार भोली प्रधानमन्त्री ओलीले ५ जना नयाँ मन्त्री मन्त्रीमन्डलमा थप्नेछन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीतर्फबाट मन्त्री बनेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र पूर्व एमालेबाट महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकर्मा र भूमिसुधारमन्त्री पद्मा अर्यालको सट्टा नयाँ मन्त्री नियुक्ति गर्नेछन् ।
नयाँ मन्त्रीमा भने सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल र कृष्णगोपाल श्रेष्ठको चर्चा छ ।