मन्त्रिमण्डल हेरफेरको निर्णय गर्नका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवलाय बैठकले त्यसबारे कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले मन्त्रिमण्डल हेरफेर, नयाँ मन्त्रीहरुको चयन र केही मन्त्रीको विदाइ गर्ने तयारी भएपनि त्यसबारे कुनै छलफल नै नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सचिवालय बैठकले नाम अनुमोदन गरेसँगै आजै नयाँ मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ गराउने तयारी रहेको र त्यसका लागि राष्ट्रपति कार्यालय पनि तयारी अवस्थामा रहेको जनाइए पनि नयाँ मन्त्रिहरुका बारेमा सचिवालय बैठकमा कुरा मिल्न नसकेको हो ।
८ जना मन्त्रीहरुको हेरफेरको विषयमा सचिवालय बैठकमा छलफल भएको बालुवाटार निकटक श्रोतको दावी छ । ६ जना मन्त्री र दुई जना राज्य मन्त्री गरि ८ जना मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको थियो ।
घनश्याम भुसाल, सुरेन्द पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, प्रशु साह, शिवमाया तुम्बाहाम्फे सहित थप दुई राज्यमन्त्रीका विषयमा छलफल भएको स्रोतको दाबी छ ।
त्यस्तै चक्रपाणी खनाल, मात्रिका यादव, थममाया थापा, लालबाबु पण्डित, जगतबहादु विश्वकर्मा, रघुवीर महासेठ र अरु दुई राज्यमन्त्रीलाई हटाएर नयाँलाई नियुक्त गर्ने विषयमा छलफल भएको थियो । तर लालबाबु पण्डितलाई नहटाउन माधव नेपालले दवाव दिएको र रघुवीर महासेठको पक्षमा प्रचण्ड रहेकाले केही समस्या उत्पन्न भएको स्रोतको दाबी छ ।
खानेपानी मन्त्री विना मगरलाई पनि हटाउने प्रधानमन्त्रीको प्रस्तावमा भने प्रचण्डले असहमति जनाएका थिए । ‘विनालाई हटाउने भए गोकुल बाँस्कोटालाई पनि हटाउँ’ प्रचण्डको भनाइ उदृत गर्दै श्रोतले भन्यो ।