वानेश्वरमा दुर्घटना, सडकमा शव भेटियो

नयाँ बानेश्वरमा बिहानै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाउनेको विभत्स शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ ।

‘सडकमा शवसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटनास्थलमा रहेका प्रहरी जवानले भने, ‘दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन ।’



उनले शवको टाउको क्षतविछ्यत भएकाले पहिचान गर्न कठिन भएको पनि बताए ।

सवारी दुर्घटना नै भएपनि ठूलो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको वा अन्य कारणबाट दुर्घटना भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

यसैबीच शनिबार युएनपार्क नजिकै एउटै दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चावहिल बस्ने २३ वर्षीय सत्यम भट्टराई रहेका छन् ।

कुपण्डोलबाट युएनपार्क जाँदै गरेको बा७७प ६७९३ नम्बरको मोटरसाइकलले बा९१प १३०१ नम्बरको मोटरसाइकलाई ‘ओभरट्याक’ गर्न खोज्दा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग मङ्गलबजारमा इन्चार्ज अनमोल पाण्डेले जानकारी दिए ।

इन्चार्ज पाण्डेका अनुसार बा७७प ६७९३ नम्बरको मोटरसाइकल चालक भट्टराईको मृत्यु भएको हो । भटट्टराईको कामको सिलसिलामा सोही बाटो हुँदै बानेश्वर जाँदै थिए ।

सम्बन्धित समाचार