राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँग्रेस कम्युनिस्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनौट गर्नु पर्ने बताएका छन् ।
ठुला-ठुला भ्रष्ट्राचारको काण्डमा ठुला दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको बताए । एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड, वाईडबढी हवाईजहाज काण्डमा ठुला दल र नेताहरुको संलग्नता रहेको चर्चा गर्दै थापाले बिदेशी हस्तक्षेप र प्रभाब रोक्न राष्ट्रबादी शक्ति बलियो हुनुपर्ने आबश्यकता औल्याए ।
परिबर्तनको नाममा हामिले धर्म, संस्कृति कमजोर बनायौ, आत्मसमर्पणबादी मानसिकताको बिकास गर्यौ भन्दै यो प्रवृत्तिको अन्त्य जरुरि भएको बताए ।
कास्की-२ को चुनावी अभियानमा सहभागी हुँदै थापाले कास्किको निर्बाचन परिणामले सरकार ढल्ने वा काङ्ग्रेस बढ्ने अबस्था नभएकोले परिबर्तनको सन्देश दिन राप्रपालाई जिताउन आग्रह गरे ।
काँग्रेस कम्युनिस्टलाई जितायौ भने मनपरितन्त्र, ब्रम्हलुट, बिकृतिको नै मनोबल बढ्ने हुदा अराजक प्रवृत्तिको अन्त्यको लागि राप्रपालाई मतदान दिन थापाले आग्रह गरे । थापाले आज कास्की-२ को तीन स्थानमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गरेका थिए । ३३ नम्बर वडा बागमारा बजार, २१ नम्बर बडा कृस्ती र पोखरा पुरानो बसपार्क ९ नम्बर वडामा आयोजित सभालाई थापाले सम्बोधन गरेका थिए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तोरण गुरुङ, प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ, उम्मेदवार रोम बहादुर भण्डारी र चुनावी अभियानका संयोजक जयलाल पुन लगायतले बोलेका थिए ।