तीन तहका सरकारबीच सहकार्य हुन सकेन : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहका सरकारबीच सहकार्य हुन नसकेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नं ३ को आइतवार सौराहामा दुई दिने प्रदेश भेलामा उनले तीन तहका सरकारबीचको समन्वयको कमीका कारण देशमा सङ्क्रमणकालको अन्त्य हुन नसकेको बताए ।

तीन तहका सरकारबीच समन्वय हुन नसक्दा समृद्धि प्राप्तिमा कठिनाइ हुने उनको भनाइ थियो । उनले भने, “समृद्धि प्राप्तिका लागि तीन तहका सरकारबीच समन्वय हुनुपर्ने हो त्यसो हुन सकेको छैन ।” अधिकार प्राप्तिका लागि धेरै ऐन कानून बन्न बाँकी रहेको र केही बनिरहेको उनको भनाइ थियो ।



भेलाले ११ बुँदे चितवन घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा समितिको अधिकार क्षेत्रलाई सम्बोधन गर्दै ऐन, नियम बनाउन सङ्घ तथा प्रदेश सरकारसँग माग गरिएको छ ।

जिल्लास्थित सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयलाई अनुगमन, समन्वय, निर्देशन आदि कार्यका लागि स्पष्ट कानूनी व्यवस्था हुन घोषणापत्रमा माग गरिएको छ ।

भेलामा जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नं ३ का अध्यक्ष तथा जिसस मकवानपुर प्रमुख रघुनाथ खुलालले महासङ्घका तर्फबाट प्रतिवेदन पेश गरेका थिए ।

महासङ्घ प्रदेश नं ३ का प्रवक्ता कृष्णकुमार डल्लाकोटीका अनुसार शनिबार र आइतबार भएको भेलामा १३ जिल्लाका प्रमुख, उपप्रमुख, सदस्य र जिल्ला समन्वय अधिकारीको सहभागिता थियो ।

सम्बन्धित समाचार