यौन दुव्र्यवहारको आरोप लागेर कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि सो पद खाली छ। उनले राजीनामा दिएपछि सो पदमा कसलाई ल्याउने भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टुंगोमा पुगेको छैन। निर्वाचन प्रक्रिया अघि बढाउन संसद्मा रहेका दलहरूबीच सहमति पनि जुट्न सकेको छैन।
नयाँ सभामुख कसलाई बनाउने भन्नेमा नेकपाले औपचारिक छलफल गरेको छैन। नेकपाभित्र सभामुखलाई प्याकेजमै टुंगो लगाउने कुरा उठेको थियो। मन्त्रिपरिषद् हेरफेरलगत्तै टुंगो लगाउने भनिएको यो विषयलाई अब उपनिर्वाचनपछि निष्कर्षमा पु(याउने तयारी नेकपाभित्र भएको स्रोत बताउँछ।
प्रधानमन्त्रीको चाहना सुवासचन्द्र नेम्बाङलाई नै सभामुख बनाउने छ । यता महरा पूर्वमाओवादी खेमाका भएका कारण सभामुख पूर्वमाओवादी खेमामै आउने भन्दै देव गुरुङ, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल र अग्नि सापकोटाले सभामुख बन्न दौडधुप गरिरहेका छन् । उनीहरूको नाम पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पुगेको छ। राज्यको मर्यादाक्रमअनुसार सभामुख पाँचौं स्थानमा हुन्छ। राष्ट्रपति र उपराष्ट्रपति नभएका बेला सभामुखले नै राष्ट्राध्यक्षको भूमिका खेल्नुपर्ने हुन्छ। अब नेकपाभित्रको पूर्वमाओवादी खेमाले सभामुख पाउने सम्भावना कम रहेको बताइन्छ ।
प्रधानमन्त्री ओलीले उपसभामुख तुम्बाहाम्फेलाई मन्त्रीमा लैजान चाहेका छन्। उनले तुम्बाहाम्फेलाई बेला आएपछि राजीनामा दिन भनिसकेका छन्। उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएसम्म सभामुखमा नेकपाले उम्मेदवारी दिन पाउँदैन। सभामुख नछाड्न प्रधानमन्त्री ओलीलाई उनी निकटकाको दबाब छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखमध्ये एउटा पद प्रतिपक्षी दलले पाउँछ।