रीता लामा
काठमाडौं, ९ मंसिर ।
यही मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिँदै गर्दा दाङका गाउँगाउँमा चुनावी माहोल तातेको छ । दाङको क्षेत्र नं ३ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारले बिहानदेखि राति अबेरसम्म टोल-टोल एवं घरघरमै पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।
विशेष गरी घरदैलो कार्यक्रमलाई उम्मेदवारले तीव्रता दिएका छन् । पार्टीका स्थानीय कार्यकर्तादेखि केन्द्रीय नेतासमेत प्रचारप्रचारमा सक्रिय छन् । गाउँ र टोलमा हुने चुनावीसभामासमेत केन्द्रीयस्तरका नेता पुगेर आफ्नो पार्टीको पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्न थालेका छन् ।
जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धा उम्मेदवाबीच चलेको देखिन्छ । मतदाताले भने बाटोघाटो तथा पुल निर्माण, कृषि क्षेत्रको विकास माग्ने गरेको पाइएको छ । आफ्नो क्षेत्रमा हुने विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न आग्रह गर्ने गरेको सुनिन्छ ।
यस क्षेत्रमा सत्तारुढ दल नेकपा र मुख्य प्रतिपक्ष काँग्रेसका उम्मेदवारबीच मै कडा प्रतिस्पर्धा हुने देखिएको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्व प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी विमलाकुमारी खत्री ओली चुनावी मैदानमा छिन् । त्यस्तै काँग्रेसबाट पुराना नेता केशवराज शर्मा चुनावी मैदानमा त्रिएका छन् ।
यस्तै राप्रपा, राप्रपा (संयुक्त), काँग्रेस (बिपी), नेकपा (माले), मङ्गोलिएन पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र दुई जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्तभएको थियो ।
यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार उत्तरकुमार ओलीले २३ हजार ९७० मत ल्याउँदै विजयी भएका थिए भने काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत प्राप्त गरेका थिए । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा अहिले २४ हजार ६८ मतदाता थपिएका छन् ।