राष्ट्रपतिलाई नै साक्षी राखिएको हो भने त्यो गलत भयोः दिलु पन्त

दिलु पन्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रिय सदस्य तथा हाल गण्डकी प्रदेश सम्पर्क समितिकी इन्चार्ज पनि हुन् । उनी युवा संध नेपालकी पूर्व वरिष्ठ उपाध्यक्षसमेत हुन् । कास्कीमा भइरहेको उपनिर्वाचन र समसामयिक राजनीतिका बारेमा अनलाइन पत्रिका नवकान्तिपुर डटकमका संवाददाता राजु लामिछानेले हालै लिएको अन्तर्वार्ताको संशोधित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पछिल्लो समय तपाईसँग जोडिएका राजनीतिक घटनाक्रमहरू केके छन् ?
मसँग जोडिएको भनेको राजनीतिक र सामाजिक परिवेश नै हो । अहिले उपनिर्वाचनको समय भएकोले र म पनि कास्कीकै भएकोले मतदादाहरुलाई भेट्ने र चुनाव प्रचार प्रसारमा बढी समय दिइरहेको छु ।



कस्तो छ कास्कीमा उपनिर्वाचन माहौल ?
जनताले एक पटक फेरि नेकपालाई नै आशा र भरोसा गरिरहेका छन् । कास्कीमा अहिले प्रतिनिधिसभा सदस्यका लागि चुनाव हुँदै छ । हामीले आशा भरोसा गरेका पूर्व मन्त्री रवीन्द्र अधिकारीको देवसानपछि ठूलो क्षति बेहेर्नु पर्यो र त्यही ठाउँमा उनकै जीवन सङ्गिनी विद्या भट्टराई चुनाव लड्दै हुनुहुन्छ । जनताले हिजो पाँच वर्षका लागि नेकपालाई जिताएको थियो फेरि अब दुई वर्षका लागि पनि नेकपालाई नै दिनु पर्छ भन्ने जनताको चाहाना छ ।

तपाईको विचारमा विद्याजी कति सशक्त उम्मेद्वार हुन् जस्तो लाग्छ ?
विद्याको बारेमा भन्नु पर्दा शङ्का गर्नुपर्ने ठाँउ नै छैन । उहाँ प्राज्ञिक र सामाजिक हिसाबले पनि सक्षम व्यक्ति हुनुहुन्छ । त्यसैले पार्टीले नै उहाँलाई जिम्मेवारी दिएर चुनावमा लाग्नु भएको छ ।

विभिन्न सञ्चार माध्यमहरू र कतिपय जनताहरूले रवीन्द्र अधिकारी मन्त्री हुँदा वाइडवडी प्रकरण निष्पक्ष छानविन गर्न सक्नु भएन । फेरि पनि उहाँकै धर्मपत्नीलाई उम्मेद्वारी दिइयो भनेर टिका टिप्पणी गरिरहेका छन् । तपाई के भन्नु हुन्छ यस विषयमा ?
यो विषयमा सम्बन्धित निकायले छानविन गर्छ होला । यसमा मलाई लाग्छ रवीन्द्रजीको संलग्नता छैन । यदि रहेछ भने पनि त्यो पार्टी र सरकाले निर्णय गर्ने कुरा हो । रवीन्द्र जीलाई विर्सेर हेर्दा पनि विद्या जी आफैमा सशक्त हुनुहुन्छ भन्ने लाग्दछ ।

उपनिर्वाचनमा नेकपाको खास प्रतिस्पर्धा कोसँग हो ? समाजवादी वा कांग्रेस ?
कांग्रेससँग नै हो । तर शसक्ततालाई हेर्दा कांग्रेस नेकपालाई उछिनिहाल्ला जस्तो मलाई लाग्दैन । कास्की २ का मतदातालाई भेट्दै गर्दा मलाई त विद्या भट्टराईको जित निश्चित छ जस्तो लाग्छ ।

त्यसो त राष्ट्रिय राजनीतिमा सरकारको काम कारवाही हेर्दा आलोचनाहरू पनि भइरहेको पाइन्छ । यही कारणले अहिलेको उपनिर्वाचनमा कत्तिको असर पर्ला ?
यो निर्वाचनबाट एक सीट जितेर खासै फरक त पर्दैन तर सरकारको काम कति प्रभावकारी भइरहेको छ र जनताको हितमा कस्ता कामहरू गरिरहेका रहेछन् भन्ने कुराको मुल्याङकन भने पक्कै पनि हुन्छ ।

त्यसो हो भने सरकारको काम कारवाहीबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?
सरकारले काम गर्न खोजेको त देखिन्छ । गर्दै गरेन भन्ने होइन । फेरि अहिले देश नयाँ संरचनामा पनि भएकाले केही कठिनाइहरू पनि छन् । हिजो हामीहरुले जनताबिच धेरै ठूला कुरा गरेका छौं । आज काम गर्ने बेलामा त सबै काम एकैचोटी गर्न सम्भव छैन । त्यसैले पनि जनतामा सरकारलाई लिएर केही निराशा छाएको भने पक्कै पनि हो ।
सरकारले मन्त्री मण्डल पुनर्गठन गरेको छ । यसमा तपाइको धारणा के छ ?
अहिले जसरी मन्त्रीहरूलाई हटाएर  राम्रा ल्याउने भनियो तर पनि फेरि पहिलेका जस्ता राम्रा मन्त्रीहरू पनि ल्याएको देखिंदैन् । यस विषयमा प्रधानमन्त्रीले पनि आफै विचार गर्नु पर्ने कुरा हो । जनताले अहिले कुराभन्दा पनि काम चाहिरहेका छन् । त्यो कुरा मा प्रधानमन्त्री गम्भीर हुनु आवश्यक छ ।

अहिले तपाईको पार्टीका दुई अध्यक्षहरूबीच सहमति भएर एउटाले पाचँ वर्षसम्म सरकार र अर्कोले पार्टी चलाउने निर्णय भएको छ । पहिलेको सहमति खारेज भएको हो अब ?
यो कुरा पार्टीले छलफल गरेर र नेताहरूको सल्लाह भएर भएको भए राम्रो हुन्थ्यो । तर त्यसो नगरी आफैंले मिलेर गरेको यो गोप्य कुरामा मलाई भने शङ्का नै छ । अहिले हामीले नेकपा भनेर चिन्नु पर्ने हो तर पार्टी एकता समयमै टुङ्ग्याउन नसक्दा हामी पूर्व एमाले, माओवादी भनेर चिनिनु परिरहेको छ । यस्ले नेता कार्यकर्तामा निराशा ल्याउछ भन्नेकुरामा शिर्ष नेताहरु सजग हुनुपर्छ ।

नेकपाका दुई अध्यक्ष मिल्नका लागि राष्ट्रपतिलाई नै साक्षी राखियो भन्ने कुरा छ । यसमा तपाई के भन्नु हुन्छ ?
राष्ट्रपति देशको अभिभावक हो । राष्ट्रपतिले हेर्ने नजर सबै पार्टीका लागि समान हुनुपर्छ भन्ने हो । त्यसमा विचलन आयो भने त्यो राम्रो कुरा होइन । राष्ट्रपतिलाई नै साक्षी राखिएको हो भने त्यो गलत भयो भन्ने मेरो धारण हो ।

तपाईहरू तल्लो तहका नेताहरू पार्टी नेतृत्वले जे निर्णय गरे पनि सर्हष स्वीकार्ने । तर पार्टीका गलत निर्णयका विरूद्ध आवाज उठाएर पार्टीलाई धक्का दिने काम गर्न सक्नु हुन्न ?
हो, यो कुरा महत्वपूर्ण छ तर पार्टी केन्द्रिय समितिको बैठक नबसेको पनि यत्रो समय भइसकेको छ, जसले गर्दा यसमा छलफल गर्ने कुरा भएन । नेताहरूको सर्कुलरले गरे अनुसार नै मान्नु पर्ने भएको छ । बिद्रोह भन्ने कुरा त हुदैन यसले जनमानसमा पनि नराम्रो सन्देश जान्छ । हामीले भन्ने भनेकै सञ्चार माध्यमबाट र विभिन्न अनौपचारिक भटवार्तामै हो । जुन कुरा हामीले भन्दै आएका पनि छौं ।

पार्टी एकताको कुरा गर्दा तपाई गण्डकी प्रदेशको सम्पर्क समितिको इन्चार्ज भएकोले तपाइलाई यसमा केही कठिनाइहरू आएका थिए ?
यो बेलासम्म पार्टी एकता पूर्ण रूपमा भइसक्नु पथ्र्यो त्यो नहुदा अझ पनि हामी पार्टीमा निर्णय गर्दा डराउनु पर्ने अवस्था छ । त्यसैले पार्टी एकता मजबुत रूपमा भइसकेको छैन् । तर अब हामी यसलाई चाडै नै सबै तल्ला तहसम्म लैजान लागि परेका छौ । जहाँसम्म मेरो नेतृत्व रहेको समितिमा भने सहमतिमै र्दुइ पक्षलाई जिम्मेबारी बाड्न हामी सफल भएका छौं ।

गण्डकी प्रदेशमा तपाईको पार्टीकै सरकार छ । के कस्तो काम गरिरहेको छ रु प्रदेश सरकारको काम कारवाहीबाट जनता कत्तिको सन्तुष्ट छन् ?
प्रायः प्रदेश सरकारमा नेताहरूले आ–आफ्नो क्षेत्रहरूलाई मात्र हेरिरहेका छन् भन्ने गुनासो छ । हाम्रो प्रदेशमा भने त्यस्तो नहोस् भन्नेमा हामी सजग छौं । सबैलाई समान रूपमा नै काम गर्ने अवसर प्राप्त छ । चुनावको बेला ठूला कुरा गर्ने र अहिले थोरै पनि गर्न सकेन भन्ने गुनासाहरू त छन् । अब हामी पार्टीलाई पनि सुदृढ पारेर जनताका आधारभूत आवश्यकताहरू पूरा गर्न लागि पर्नुपर्छ । त्यसतर्फ हामी सधैं सकरात्मक नै छौं ।

सम्बन्धित समाचार