नेपाल-भारत सीमा विवाद सार्वजनिक भएको वेला बुधबारबाट पोखरामा सीमा सुरक्षा बैठक सम्पन्न भयो । बैठकमा नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको सहभागी थियो । उनीहरूबीच सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा छलफल भयो ।
तर, विवादित कालापानी, लिपुलेकको विषयमा कुरै उठेन । हरेक वर्ष दुई देशबीच यस्तो बैठक हुने गरेको छ । बैठकका एजेन्डा पनि अगाडिनै तय हुने गरेका छन् । यसपाली पनि बैंठकका एजेन्डा अगाडि नै तयार पारिएका थिए । जसमा लिपुलेक कालापानीको विषय समेटिएको थिएन ।
पोखरामा बैठक सकेर टोली बिहीबार नै काठमाडौं फर्किएको थियो भने शुक्रबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच औपचारिक रुपमा बैठक समापन गरिएको छ । भारतीय टोली शनिबार भारत फर्किनेछ ।
उता सरकारले दुई देशबीच सीमा विवाद चर्किएपछि नेपाल–भारत र नेपाल–चीनको सीमा निरीक्षण गर्न समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सीमाको अवस्थाबारे बुझ्न समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिले भारत र चीनतर्फ नेपालसँग जोडिएको सीमाको अवस्था र सीमास्तम्भबारे अध्ययन गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएका थिए ।
सरकारले नेपाली सीमा मिचिदा समेत कुनै पहल नथालेको भन्दै जनता आक्रोसित भइरहेको सयमा सरकारको उक्त निर्णय आएको हो ।