वरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजूको निधन भएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष कसजूको उपचारका क्रममा मंगलबार निधन भएको हो ।
निमोनियाका कारण गएको कात्तिक १९ गते देखि उनको मेडिसिटी अस्पतालमा आईसीयूमा उपचार भइरहेको थियो । नेपाली भाषा साहित्यमा आधा दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय कसजू नेपाली पत्रकारिता क्षेत्रका पनि विशिष्ट व्यक्ति मानिन्छन् ।
उनले गाउँले जनजीवनका लागि उपयोगी गाउँले देउराली भित्ते पत्रिकाको प्रकाशन शुरु गरेका थिए । अहिले पनि पाल्पामा गाउँले देउराली पत्रिका लोकप्रिय छ । ग्रामीण पत्रकारितामा उनको योगदान रहेको छ ।
पाल्पाबाट निस्कने लोकप्रिय साप्ताकिह पत्रिका ‘सत्य’ को पनि कसजू प्रकाशक–सम्पादक थिए । २०४० सालदेखि २०५१ सालसम्म उनले ‘सत्य’ को प्रकाशक तथा सम्पादक भएर काम गरेका थिए ।
बाल साहित्यमा उनका एक सय भन्दा धेरै कृति प्रकाशित छन् । विनय कसजूका १०० बाल कथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका चर्चित कृति सार्वजनिक छन् ।
प्रजातन्त्रको पुनःस्थापनाका लागि त्यस पत्रिकाले महत्वपूर्ण भूमिका खेलेको थियो । निरंकुश पञ्चायती शासनविरुद्ध लेखेका कारण उनी सन् १९८५ र सन् १९८७ मा जेल परेका थिए । कसजू राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त पनि हुन् ।
२००४ साल असार २९ गते पाल्पाको तानसेनमा जन्मिएका उहाँले प्रेस काउन्सिलका आमन्त्रित सदस्य र राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्यका रुपमा पनि सेवा गरेका छन् ।