गलकोट घुम्टे महोत्सवको मुख्य आकर्षण हेलिकप्टरबाट दृश्यावलोकन

मंसिर ४ गतेदेखि बागलुङमा आरम्भ प्रभु दोस्रो गलकोट घुम्टे महोत्सवको मुख्य आकर्षणको रूपमा हेलिकप्टरबाट पर्यटकीय तथा धार्मिक स्थलहरूको दृश्यावलोकन मंगलबारदेखि सञ्चालन भएको छ । प्रभु हेलिकप्टरमार्फत दर्शकलाई गलकोट उपत्यकासँगै गलकोटको शिर पर्यटकीय तथा धार्मिक स्थल घुम्टे शिरमा सिद्धभैरव दर्शन गर्नेहरूको ओईरो नै लागेकाे छ । दिउँसो १ बजेदेखि हेलिकप्टर उडान भइरहेको महोत्सव हेलिकप्टर व्यवस्थापन समितिका सदस्य भुपेन्द्र खत्रीले जानकारी दिए ।

घुम्टेमा मंसिर ११ गते हेलिकप्टरले १३ ट्रिप गरेको सदस्य खत्रीले बताए । विशेष गरी गलकोट क्षेत्रबाट विदेशमा रोजगारीको सिलसिलामा रहेका आफन्तजन र छोरा छोरीले नेपालमा रहेका बाबा, आमा र आफन्तजनलाइ टिकट बुकिङ गरी हेलिकप्टरबाट दृश्यावलोकनसँगै घुम्टेमा सिद्व भैरवको दर्शन गर्ने माहोल मिलाइदिएका छन् ।
हेलिकप्टर चढेर प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै घुम्टे शिरमा पुगेर सिद्ध भैरवको दर्शन गर्न पाएककोमा मन प्रफुल्ल भएको र स्वर्ग गएजस्तो अनुभूति पाएको गलकोट नगरपालिका ५ हरिचौरका ८७ वर्षीय ज्येष्ठ महिला तिलकुमारी खत्रीले बताइन् । पहिले बचपनमा धेरै पटक जाने आउने गरेको भएता पनि बुढेसकालमा महोत्सवले हेलिकप्टर चढेर दर्शन गर्न पाएको भन्दै आयोजक र टिकट व्यवस्था मिलादिने छोराहरूलाई धन्यवाद दिइन् ।



महोत्सवमा हेलिकप्टर चार्टरले महोत्सवको रौनकता थपेको र माहोल नै छुट्टै बनाइदिएको स्थानीयको भनाइ छ । दर्शकको चाहनालाई मध्यनजर गर्दै हिजो सकिनु पर्ने प्रभु दोस्रो गलकोट घुम्टे महोत्सवको समय अवधि १ दिन थप गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झङबहादुर बस्नेतले जानकारी दिए ।

सम्बन्धित समाचार