संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त रहेको छ । सभामुखको अनुस्थितिमा उपसभामुखले संसद् सञ्चालन गर्ने कानुनी प्रावधान रहेकाले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले मंसिर अन्तिममा बैठक बोलाउने तयारी भएको बताएकी छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले पनि उपनिर्वाचनलगत्तै प्रतिनिधिसभा संसद्को नयाँ सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाउने बताउदै आएको छ ।
हाल अस्पतालमै उपचाररत प्रधानमन्त्री केपी ओली डिस्चार्ज भएसँगै सभामुख चयनका लागि परामर्श गर्ने बताइएको छ । त्यसो त पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कार्यकारी अध्यक्ष बनाएमा सभामुख पूर्व एमालेइत्तरका नेतालाई बनाउन सहयोग गर्ने बताएकोले सभामुख पद पूर्व एमालेले नै पाउने चर्चा छ । तर पछिल्लो समय एक अन्तवार्ताको क्रममा ओलीले आफू सिनियर अध्यक्ष र प्रचण्ड जुनियर अध्यक्ष भएको भन्दै कहिलेकाहीं आफूले पनि पार्टी बैठकको अध्यक्षता गर्ने अभिव्यक्ति दिएपछि झस्किएका प्रचण्डले ओलीलाई दिएको वचनबाट पछि हटने सङ्केत गरेका छन् । उनले पूर्वमाओवादीको भागमा रहेको सभामुख पद पूर्वमाओवादीइत्तरका नेताले नै पाउने आफू निकटहरुको एक गोप्य बैठकमा गरेको स्रोतको दाबी छ ।
यी हुन् दावेदार
हाल उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फे स्वाभाविक रूपमा सभामुख पदको दावेदार हुन् । उनलाई नै सभामुख बनाउनुपर्ने पक्षमा नेकपाका महिला नेतृहरूले शीर्ष नेतासँग माग पनि गरेका छन् । तुम्बहाम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने प्रस्ताव असफल भएसँगै उनी नै सभामुख बन्ने सम्भावना बढ्दै गएको नेकपाका एक नेताले बताए ।
भावी सभामुखका लागि उपसभामुख तुम्बाहाम्फेसँगै नेकपा संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङको पनि चर्चा शुरु भएको छ । यसअघि सभामुखको २ कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका उनलाई सभामुख बनाउन प्रधानमन्त्री ओली पनि सकारात्मक देखिएका छन् । तुम्बाहाम्फेलाई मन्त्रीपरिषद्मा ल्याएर नेम्वाङलाई सभामुख बनाउने ओलीको तयारी छ ।
पूर्वमाओवादी समूहले यसअघि आफ्नो भागमा परेकाले सभामुख आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । नेकपाभित्र पार्टीका प्रमुख सचेतक देव गुरुङ, अग्नि सापकोटा र पम्फा भुसालको नाम पनि चर्चामा छ ।
त्यसो त सभामुखको विषय मन्त्रिपरिषद्को पुनर्गठनकै बेला प्याकेजमा सहमती भएको अनुमान पनि गरिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले उपनेता नेम्वाङलाई सभामुख बन्न तयार रहन भनेकोले अन्तमा सभामुखमा नेम्वाङले बाजी मारेमा अनौठो नमाने हुन्छ ।