विजयबाबु स्मृति पत्रकारिता पुरस्कार अधिकारीलाई

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिने भएको छ । स्व. विजयबाबु खत्रीको आठौं स्मृति दिवशमा बिहीबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा.लिका अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार अधिकारीलाई पुरस्कार दिने घोषणा गरेकी हुन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार अधिकारीलाई पहिलो विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । समितिमा प्रेस काउन्सिल सदस्य शुभेच्छा विन्दु तुलाधर र नेपाल समाचार केन्द्रद्वारा प्रकाशित अनलाइन पत्रिका न्युज कारोबारका सम्पादक डीआर आचार्य सदस्य छन् । गत वर्ष मंसिर १२ गते अक्षय कोष स्थापना गरी घोषणा गरिएको पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ । पुरस्कार मंसिर २४ गते प्रदान गरिनेछ ।



अनलाइन पत्रिका लोकान्तरका अध्यक्ष अधिकारी चार दशकदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् । २०३४ सालमा ‘लन्डन स्कुल अफ जर्नालिजम’मा पत्रकारितामा डिप्लोमा गरेका अधिकारीसँग त्यहाँ रहँदा बीबीसी नेपाली सेवामा आउटसाइड कन्ट्रिब्युटरको रूपमा काम गरेको पुरानो अनुभव छ । २०३५ सालदेखि गोरखापत्रमा १२ वर्ष पत्रकारिता गर्दा सबै बिटमा रिपोर्टिङ गरेका अधिकारीले पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन पत्रिका सबैमा आबद्धता जनाइसकेका छन् ।

सम्बन्धित समाचार