कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।
आज बिहान अर्मलाको शान्ति मावि मतदान केन्द्र, पोखरा–९ स्थित नवप्रभात मावि मतदान केन्द्र र पोखरा–३३ स्थित सरस्वती टीका माविस्थित मतदान केन्द्र नजिक विष्फोटक पदार्थ पड्किएको थियो । त्यसबाट मतदानमा कुनै असर नपरेको र मतदाताहरु निर्भीक भएर मतदानमा सहभागी भएको प्रजिअ केसीले बताए ।
अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । मतदाताले भोट हालिहरहेका बेला माथिबाट मतदानस्थलमै बम प्रहार गर्दा थोरैले मानवीय क्षति हुनबाट बचेको प्रहरीले जनाएको छ।
मतदातालाई त्रसित गराउन विष्फोट गराएको भन्दै प्रहरीले निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ ।
यसैबीच कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान नेकपाका उम्मेदवार बिद्या भट्टराई मतदान गरेकी छिन् ।