उपनिर्वाचन सम्पन्‍न, करिब ७० प्रतिशत मत खस्यो

तीन तहका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ । शनिबारको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । मतदानको पूर्णविवरण आउन बाँकी रहे पनि अधिकांश स्थानमा करिब ७० प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

बिहान सात बजेबाट सुरु भएको मतदान अहिले अपरान्ह पाँच बजे सम्पन्न भएको हो । केही मतदानस्थलमा भने मतदाता आउने क्रम जारी रहेकाले केहीबेरलाई मतदानको समय पर सारिएको छ ३७ जिल्लामा भएको उपनिर्वाचनका क्रममा शनिबार कास्की र लमजुङका मतदानस्थलमा बम विष्फोट भएको थियो । कास्कीको पोखरामा भने श्रृंखलाबद्ध रूपमा विभिन्न चारवटा मतदानस्थल नजिकै बम बिस्फोट भयो ।



उपनिर्वाचनालाई लक्षित गर्दै पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि, पोखरा १६ स्थित शान्ति मावि, पोखरा– ३३ मा भरतपोखरीमा रहेको सरस्वती टिका मावि र पोखरा १६ को चण्डिका आधारभूत विद्यालय मतदानस्थल नजिकै बम बिस्फोट भएको हो । बम विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ । बम विस्फोटपछि केही बेर मतदान स्थगित भएको थियो। बम विष्फोटपछि त्रासकै बीच पनि मतदाताले मतदान गरेका छन् ।

सम्बन्धित समाचार