उपनिर्वाचन अपडेट : वडाध्यक्षमा नेकपा १०, कांग्रेसले ६ र समाजवादी १ स्थानमा विजयी

३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा शनिवार भएको उपनिर्वाचन मतपरिणाम आउनेक्रम जारी छ । स्थानीय तहका वडाहरुको नतिजा आइरहेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।

आइतबार बिहान साढे ७ बजेसम्मको अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अगाडि देखिएको छ । बिहान साढे ७ बजेसम्मको परिणाम अनुसार स्थानीय तहका धेरै वडामा नेकपाले जितेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि नेकपा अगाडि छ ।



०००
बागलुङको बडिगाड गाउँपालिका-२ वडाध्यक्षमा सत्तारुढ दल नेकपाका ढालेन्द्र प्रसाद शेरचन विजयी भएका छन् । शनिबार सम्पन्न वडाध्यक्ष पदको उपनिर्वाचनमा शेरचन निकटम प्रतिद्वन्दी कांग्रेसका डिलबहादुर रानालाई २ सय ९२ मतले पछि पार्दै विजयी भएका हुन । शेरचनले ७ सय ४ मत ल्याएका थिए भने रानाले ४ सय १२ ल्याएका छन् ।
०००
रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विजयी भएको छ । नेकपाबाट वडा अध्यक्षका उम्मेदवार रहेका जनकबहादुर बुढामगर विजयी भएका हुन् । उनले १७४ मत पाए । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत पाएका छन् ।
०००
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । खानेपानी मन्त्री बीना मगरले मतदान गरेको यो वडामा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका हुन् । तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाए ।
०००
सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेकपाका उम्मेदवार धर्म बुढाथोकी विजयी भएका हुन् ।
०००
लमजुङको सुन्दरबजार–२ मा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । लमजुङको सुन्दरबजार–२ का उम्मेदवार नवीनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाईले ४८२ मत ल्याएका छन् ।
०००
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोईराला विजयी भएका हुन् । उनले ८६७ मत पाए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाएका थिए । शनिवार सम्पन्न उपनिर्वाचनमा १५०२ मत खसेको थियो ।
०००
खोटाङको साकेला गाउँपालिका वडा नं ३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् । साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।
०००
काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार विजयी भएका छन् । दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार शिवभक्ति बलामी विजयी भएका हुन् । उनले ६१८ मत पाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारले २ सय ७८ मत पाएका थिए । मतदानमा १०३६ मत खसेको थियो ।
०००
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा नेकपाका उमेदवार विजयी भएका छन् । शनिवार सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेकपाका उमेदवार केदारनाथ आचार्य विजयी भएका हुन् । उनले ७१२ मत पाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार अशोक तामाङले ४३९ मत पाएका थिए । यसअघि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो ।

इन्द्रावती गाउपलिका ८ को उपनिर्बाचनमा १४०४ मतदातामा ११७५ खसेको थियो ।
०००
भोजपुर पौवादुम्मा १ मा नेकपाका उमेदवार विजयी भएका छन् ।
०००
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ । चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको छ ।

भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल विजयी भए । त्यस्तै खैरहनी नगरपालिका ४ मा पनि कांग्रेसकै देब बहादुर बस्नेत विजयी भएका छन् ।

बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।

खैरहनी ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की विजयी भएकी छन् । नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।
०००
दाङ(घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेद्वार ताराबहादुर डिसी १ हजार २ सय १८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्दी नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत प्राप्त गरे ।

त्यस्तै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरीले ७ सय २० मत ल्याउँदा समाजवादी पार्टी नेपालकी विमला पुनले ३१ मत ल्याइन ।
०००
बैतडी, सुर्नया गाउँपालिका-१ कांग्रेसका उमेदवार विजयी भएका छन् ।

त्यस्तै समाजवादी पार्टी नेपालले एक स्थानमा जीत हात पारेको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा समाजवादी पार्टी नेपालका उमेदवार विजयी भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालका उम्मेदवार श्यामबाबु राय विजयी भएका हुन् ।

सम्बन्धित समाचार