नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज भैंसेपाटी बागडोल ईकाइका सक्रिय सदस्य तथा ट्याक्सी चालक स्व. भद्रबहादुर राना मगरको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
ललितपुरको नख्खु बागडोल चौतारामा शनिबार आयोजित स्व. भद्रबहादुर राना मगरको श्रद्धाञ्जली सभामा मगरको परिवारलाई तीन लाख चौबीस हजार चारसय एकानब्बे रूपैयाँ हस्तान्तरण गरिएको थियो । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज, इजी नेपाल एप्स र विभिन्न संघ संगठनहरूको सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समितिका अध्यक्ष दुर्गा श्रेष्ठले विभिन्न आन्दोलनमा घाइतेहरूलाई होस् वा अन्य विपद्मा होस् जनतालाई सेवा दिने बिषयमा ट्याक्सीले पनि एम्बुलेन्स सरह नै सहयोग पुर्याउदै आएको अवगत गराए ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वछाने मगरले यातायात सवारी ऐनविपरीत सञ्चालनमा आएका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीले ट्याक्सीको रोजीरोटी खोसेको बताए । उनले ट्याक्सी चालकहरूले बर्षौदेखि पुरानै भाडादरमा सेवा दिइरहेकोले अब त्यसलाई पनि समय सान्दर्भिक भाडा समायोजन गर्नु पर्ने धारण राखे । साथै दिनप्रतिदिन ट्याक्सी चालकहरूमाथि आक्रमण गर्ने अपराधीहरूलाई पक्राउ गरी कारवाही गर्नु पर्ने र पीडितहरूलाई क्षतिपूर्ति दिनुपर्ने कुरामा जोड दिए ।
श्रद्धाञ्जली सभामा सम्वोधन गर्ने अधिकांश वक्ताहरूले ट्याक्सी चालकका समस्याहरूलाई राज्यले नसुनेको गुनासो गरेका थिए । सरकारले विभिन्न पेशा व्यवसायीहरूको पारिश्रमिक र सेवा सुविधा बढाए पनि यस्ता सेवा सुविधाहरूबाट बर्षौदेखि ट्याक्सी व्यवसायीहरू भने वञ्चित रहेको ट्याक्सी चालकहरू भनाइ रहेको छ । चालकहरूले सधै दिन–रात जनतालाई सेवा दिइरहँदा पनि कामको सम्मान गरिनुको साटो आफूहरूमाथि ठगीको बिल्ला भिराउने काम भएकोमा आपत्ति जनाएका थिए ।