बलात्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै पक्राउ

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएको अवस्थामा नै उनलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरको विराट नर्सिङ होममा रहेका सिद्धबाबालाई हर्ट हट्याक भएको भन्दै चिकित्सकहरुले सघन उपचार कक्ष (आईसीयू)मा राखेका थिए ।

तर सोमबार(आज) बिहान चार बजे सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेको हो । दिउँसो पक्राउ गर्दा कृष्णदासजीका समर्थकको भीड लाग्ने र अवरोध सिर्जना हुने भएकाले बिहानै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको डीएसपी शर्माले बताए ।



सुनसरीको चतरास्थित आफ्नै आश्रममा गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएको सार्वजनिक भएपछि उनी गत बिहीबारबाट विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली बलात्कार आरोपित सिद्धबाबालाई पक्राउ गर्न विराट नर्सिङ होम पुगेको थियो । तर, चिकित्सकहरुले उनलाई हर्ट अट्याक भएकाले बाहिर लैजान दिएनन् ।

सिद्धबाबा भनिने गिरीमाथि उनकै अनुयायी एक महिलाले जबरजस्ती करणी (बलात्कार)को आरोप लगाएकी छन् । पीडित भनिएकी महिलाले गिरीविरुद्ध जबरजस्ती करणीको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीसँग अनुमति समेत लिइसकेको छ ।

गिरी भने अदालतले पक्राउ पूर्जि जारी गरेकै दिनदेखि अस्पताल भर्ना भएका छन् ।

सम्बन्धित समाचार