उपनिर्वाचनले साङ्गठनिक आत्मबलमा अभिवृद्धि गराएको छ : काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार सम्पन्न उपनिर्वाचनले पार्टीको साङ्गठनिक आत्मबलमा अभिवृद्धि गराएको र आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्ने सन्देश प्राप्त भएको जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनेक प्रतिकूलताबीच मतदाताले काँग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिएर जिम्मेवार र शालिन प्रतिपक्षी भूमिका अनुमोदन गरेको बताए । उनले भने, “समग्रमा मत बढे पनि कतिपय स्थानमा मत घट्नुको आन्तरिक साङ्गठनिक समीक्षा गरेर आगामी दिनको तयारी गर्नुपर्ने टड्कारो आवश्यकताको सन्देश प्राप्त गरेका छौँ । विसं २०७४ को तुलनामा काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बीचको मतान्तर विसं २०७६ मङ्सिर १४ गते आइपुग्दा घटेको छ ।”



यही मङ्सिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ स्थानमा उपनिर्वाचन भएको थियो ।

काँग्रेसले उपनिर्वाचनमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएकोमा त्यस बारेमा साङ्गठनिक कमजोरीको समीक्षा गर्ने जनाउँदै प्रदेश नं २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश नं ५ को अर्घाखाँची र प्रदेश नं ३ को चितवन, प्रदेश १ को धरान र काठमाडौँ उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले उत्साही तुल्याएको जनाएको छ ।

प्रवक्ता शर्माले भने, “विगतमा काँग्रेसको सरकारले आफ्नो पार्टीको पराजयको पूर्वानुमानका बाबजुद पनि स्वस्थ, निष्पक्ष निर्वाचन गराएको निकट इतिहासको सिङ्गो देश साक्षी छ । तर वर्तमान सरकार त्यो कर्तव्य निर्वाहमा भन्दा आफ्नो पार्टीलाई जिताउने ध्याउन्नमा मनोवैज्ञानिक, राजनैतिक र प्राविधिक बन्दोबस्तमा केन्द्रित देखियो । यसका अनेक उदाहरण यसबीचमा सार्वजनिक भइसकेकै छ ।”

उपनिर्वाचन सरकार बनाउन या बदल्न नभई सरकारलाई सच्याउन योगदान गर्न सक्छ भन्ने आफूहरुले मतदातालाई गरेको अपिलबमोजिम नै मङ्सिर १४ को उपनिर्वाचनले सरकार सच्चीनु पर्ने प्रष्ट सन्देश दिएको उनले दाबी गरे ।

उपनिर्वाचनको मतपरिणामले विगत २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी भएको टिप्पणी गर्दै प्रवक्ता शर्माले भने, “एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्षको अङ्क हासिल भएको तथ्य राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग छँदैछ । ‘

सम्बन्धित समाचार