प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान र भक्तपुरमा कांग्रेसले जित्नुले धेरै अर्थ राख्ने बताएका छन् । कांग्रेसका सरल नेता भीमबहादुर तामाङको सातौँ स्मृति दिवसमा केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले उपनिर्वाचनको नतिजाले कांग्रेसमा उत्साह भरेको बताए ।
देउवाले भने ‘उपनिर्वाचनमा प्रहरी प्रशासन निष्पक्ष रहेन । आचारसंहिता विपरीतका कार्य भए । हाम्रै प्रभाव क्षेत्रमा बम पड्काएर हाम्रा मान्छेलाई हतोत्साही बनाउने काम भयो,’ देउवाले भने, ‘तर, पनि भक्तपुर र धरानमा हाम्रो जित उत्साहपूर्ण रह्यो ।’
देउवाले दाङ, बाग्लुङ, कास्कीसहितका धेरै ठाउँमा कांग्रेस मत बढ्नुले सकारात्मक सन्देश दिएको बताए । निष्पक्ष निर्वाचन हुन नदिइएको ठाउँमा कांग्रेसले छानबिन गर्ने दाबी पनि देउवाले गरे ।
प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै दुईतिहाइको सरकारको दुईवर्षे समय गुज्रिँदा भएको उपनिर्वाचन जनमत सर्वेक्षण भएको टिप्पणी गरे । ‘उपनिर्वाचनलाई हामीले जनमत सर्वेक्षणका रूपमा लिएका थियौँ । गत निर्वाचनको दुई वर्षमा हामीलाई र सत्तारूढ दललाई मतदाताले प्रस्ट सन्देश दिएका छन्,’ शर्माले भने, ‘मतदाताले हामीलाई अनुमोदन गरे किनकि ०७४ सालको निर्वाचनको तुलनामा हामीले उपनिर्वाचन भएकामध्ये प्रभावशाली ठाउँमा जित्यौँ । हारेका ठाउँमा पनि मतान्तर घटाएका छौँ ।’
शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भरतपुरको वडा र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निवास रहेको भक्तपुरको बालकोट पुगेर कांग्रेसले जित्नुलाई रणनीतिक रूपमा अथ्र्याए । कांग्रेस सकियो भन्नेलाई ती क्षेत्रमा खोज्न उनले आग्रह गरे ।