प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सीमा विवादको विषयमा कूटनीतिक पहल कहाँ पुग्यो ? भनेर सरकारलाई प्रश्न गरेका छन् । बिहीबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कालापानीको विषय यत्तिका समय भइसक्दा पनि तीन हप्तापछि मात्र एउटा पत्र पठाएको भन्ने सुन्नमा आएको बताउदै उनले कूटनितिक पहल कहाँ पुग्यो भनी प्रश्न गरेका हुन् ।
सरकारले अहिलेसम्म कुनै ठोस कदम चाल्न नसकेको आरोप लगाउदै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएकोले सरकारले कूटनीतिक पहलमार्फत सीमा विवादको समाधान गर्नुपर्नेमा जोड दिए ।
विभिन्न विधेयकहरू ल्याउँदा सरकारले संविधानको मूल मर्म र भावनालाई ख्याल गर्नुपर्ने हो तर यहाँ उल्टै संविधानको मूल मर्ममाथि नै प्रहार गरेको छ भन्दै उनले यो लोकतान्त्रिक पद्धतिविपरीत भएको आरोप लगाए । उनले यो संविधान सबै राजनीतिक दलहरू मिलेर बनाएकोले यसकोे मर्मको पालना गर्नु पनि सबैको कर्तव्य रहेको भन्ने धारणा व्यक्त गरे ।