उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि यी पाँच आधार तय गरेको बताए ।
सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी गरिने बताउँदै उनले भने, “ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ ।” राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरु पनि विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलकोे जोड छ ।
‘‘देशमा ७० प्राविधिक शिक्षा र ३० प्रतिशत सामाजिक शिक्षा हुने गरी योजना बनाइएको छ”, उनले भने, “एक्काइसौँ शताब्दीमा व्यावसायिक र व्यावहारिक शिक्षाको आवश्यकता छ ।” उपप्रधानमन्त्री पोखरेलले विद्यालय शिक्षा सुधारका लागि स्थानीय तह, जनप्रतिनिधि र स्थानीयवासी मिलेर लाग्नुपर्ने औँल्याए ।