-नेत्रविक्रम बिमली ।
काठमाडौं, २२ मंसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसबाहेक अन्य राजनीतिक दलले देशको रक्षा गर्न नसक्ने ठोकुवा गरेका छन् । सम्पूर्ण जातजाती, भाषा, धर्म, सम्प्रदाय राष्ट्रियताको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस भएको बताउँदै उनले यस्तो दाबी गरेका हुन् ।
राजधानीको भृकुटिमण्डवस्थित रत्नराज्य क्याम्पस (आरआर) मा शनिबार झापा क्षेत्र नम्बर ३ काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । समाज कहिलेकाही गलत बाटामो जान सक्ने बताउँदै नेता सिटौलाले राजनीतिक दलका नेताले सही बाटोमा हिडाउँन भूमिका खेल्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो एकता नै बल हो । राजनीतिक दल र जनताबीचको एकताबाट मात्र देश बन्छ । समाजले कहिलेकाहीं बाटो बिराउन सक्छ । कहिले राजनीतिक दलले पनि बाटो बिराउन सक्छन् । त्यसैले सबैे आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ । सबैको भावनाको कदर गर्दै सबैको भावनाको प्रतिनिधित्वलाई ध्यानमा राखेर राजनीतिक दलले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’
सबैलाई मिलाएर अगाडि जानुपर्छ भन्ने विचार कांग्रेसको भएको बताउँदै उनले भने,‘लोकतन्त्र जनताको अधिकार हो । हामीले संविधानमा समाजवादउन्मुख शासन व्यवस्था भनेका छौं । जनताका सम्पूर्ण अधिकारलाई स्थापित गर्नको लागि लोकतन्त्र आवश्यक हुन्छ । राजनीतिक अधिकार दिएर मात्रै जनता र देश सम्पन्न बन्न सक्दैन । पछि परेका, पछि पारिएका र गरिब जनतालाई राजनीतिक अधिकारसँगै आर्थिक मजबुतीको पनि व्यवस्था गर्नुपर्छ । त्यो व्यवस्था लोकतान्त्रीक समाजवादमा हुन्छ ।’
प्रेस स्वतन्त्रता र सक्षम, न्यायिक र निष्पक्ष अदालतको वकालत गर्ने पार्टी नेपाली कांग्रेस भएको बताउँदै नेता सिटौलाले भने,‘पत्रकारले जे देख्छन्, त्यही लेख्ने अधिकार हुुनुपर्छ । न्यायलयलाई स्वतन्त्र र निष्पक्ष राख्नुपर्छ । यो नेपाली कांग्रेसको मुख्य लक्ष्य हो । नेकपाले यस्तो गर्दैन । कम्युनिष्ट विचारअनुसारको समाजवादमा प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका हुँदैन ।’
उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाका सदस्य रेवतीरमण नेपाल, नेपाली कांग्रेस झापा—काठमाडौं सम्पर्क समितिका सभापति दिपक उप्रेती, क्षेत्र नम्बर ३ का सभापति निरज सिटौला, सम्पर्क समितिका उपसभापति रोशन लामिछाने, कोषाध्यक्ष खेम प्रसाईंले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण सम्पर्क समितिका सचिव श्यामबाबु सिटौलाले गरेका थिए ।