विप्लव नेकपाका पुरै जिल्ला कमिटी नेकपामा प्रवेश

प्रतिबन्धित विप्लव समूहको सिंगो कैलाली विद्यार्थी जिल्ला कमिटी सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ । घोडाघोडी नगरपालिकाको सुख्खडमा आयोजित एक कार्यक्रमकाबीच विप्लव नेतृत्वको विद्यार्थी संगठनको कैलाली जिल्ला अध्यक्ष पद्म काफ्ले, जिल्ला सहसचिव नविन कार्की लगायत सिंगो कमिटीलाई पार्टी स्थायी समिति सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले पार्टी प्रवेश गराउँदै शान्ति, स्थायित्व र विकासका लागि मूलधारको राजनीतिमा आउनु विवेकसंगत निर्णय भएको बताए ।

भट्टले नव प्रवेशीहरुलाई आफ्नो पार्टीमा स्वागत गर्दै भने, ‘युवाहरु बरालिदा देशले दुख पाउँछ, युवाहरु शान्ति, स्थायित्व र विकासको मार्गमा अघि बढे मुलुक सुख र समृद्धिको दिशामा अघि बढ्छ । मूलधारमा फर्कनु भएका तपाइहरुलाई यथोचित सम्मान र भूमिका दिन कुनै कन्जुसाइ हुँदैन ।’



नेता भट्टले सबै कार्यकर्ताहरुलाई मूलधारमा फर्कन र एउटै कम्युनिस्ट पार्टी बनेकाले यसैभित्र बसेर रचनात्मक आलोचना गर्दै समाजको मूल मर्मअनुसार काम गर्न आग्रह गरे । सिंगो नेपाल र सुदुरपश्चिमका सबै युवाहरु अब विकास र समृद्धिमा अघि बढ्नुपर्ने नेता भट्टको तर्क थियो ।

पार्टी प्रवेश गर्ने विद्यार्थी नेताहरूले आफू देश र जनताका लागि आवश्यक परे बलिदानी गर्ने भावका साथ विप्लव नेतृत्वको पार्टीमा लागेको र गएका चार पाँच बर्षमा पार्टीले राजनीतिक दिशा स्पष्ट नगरेपछि निराश भएर पुरानै घर फर्कनु परेको प्रतिक्रिया दिएका थिए ।

पार्टीमा निकै ठूलो संख्यामा साथीहरु जेल नेल पर्दा नेतृत्वले चासो नदिएको, उनीहरुको घर परिवार विचल्ली भएको र क्रान्तिका लागि उत्साहजनक माहौल सृजना हुन नसकेकाले आफुहरुले त्यस पार्टीमा राजनीतिक भविष्य नदेखेको बताए ।

सम्बन्धित समाचार