हजारौ विद्यार्थीहरूले एकसाथ कोरे नेपालको वास्तविक नक्सा (तस्विर सहित)

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ‘चिनौं सिमाना जोगाऔं माटो’ अभियान अन्तर्गत हजारौं विद्यार्थीहरूले एकसाथ नेपालको वास्तविक नक्सा बनाएका छन् । नेपाली सिमानामा भइरहेको अतिक्रमणको विरोध र पाठ्यपुस्तक, सरकारी कार्यलयमा प्रयोग भइरहेको गलत नक्साको प्रयोग सच्याउन दबाब दिने उद्देश्यले सोमवार काठमाडौंमा हजारौं विद्यार्थीहरूले एकसाथ नेपालको वास्तविक बनाएका हुन् ।



नेविसंघका निर्वतमान केन्द्रीय सदस्य तथा ‘चिनौं सिमाना, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीले सरकारले आजसम्म पनि नेपालको वास्तविक नक्साविपरीत विद्यार्थीहरूलाई पठनपाठन गराइरहेको भन्दै आपत्ति जनाए । उनले भने ‘नेपाली राजनीतिक परिर्वतनका लागि पटक पटक आन्दोलन गरेर लड्दै आएको नेविसंघ अब नेपाली माटोका लागि अन्तर्राष्ट्रिय शासकसँग लड्ने छ । पुर्खाहरूले जोगाएको नेपाली भूमि अन्तर्राष्ट्रिय अदालतमा गएर भए पनि फिर्ता गराएरै छोड्ने छौं ।’

नेविसंघका निर्वतमान महामन्त्री कुन्दनराज काफ्लेले नेपालको मिचिएको भूमिलाई फिर्ता ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलीमा राष्ट्रवाद देखाउनुभन्दा व्यवहारमा राष्ट्रवाद देखाउनु पर्ने धारणा राखे । उनले नेपाली भूमि फिर्ता गराउन नेपाल सरकारले जस्तोसुकै कदम पनि चाल्न सक्नुपर्ने बताए ।

उनले दरबार हाइस्कुलबाट शुरू गरेको ‘चिनौं सिमाना जोगाऔं माटो’ अभियानलाई छिट्टै ७७ वटै जिल्लामा पुर्याउने र विद्यार्थीहरूले बनाएको नेपालको वास्तविक नक्सा राष्टपति समक्ष बुझाउने तयारी भएको बताए । साथै, अभियानलाई सम्वोधन गर्दै विद्यार्थी नेता गोपी सिवाकोटीले भारतले नेपाली भुमि आफ्नो हो भन्नू उसको बालहट भएको टिप्पणी गरे ।

सम्बन्धित समाचार