सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो विधान संशोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने गरी पार्टीको नयाँ कार्यदिशा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्दै कार्यदिशा परिवर्तन गर्ने निर्णय गरेको हो ।
यो प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले पारित गरेपछि लागू हुनेछ । तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणपश्चात् बनेको नेकपाको पार्टी कार्यदिशा विषयमा बहस हुँदै आएको थियो । यसअघि नेकपाको मार्गदर्शक सिद्धान्तः माक्र्स लेनिनवाद र कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद राखिएको थियो ।
मार्गदर्शक सिद्धान्त पुरानै राखी कार्य्दिशा मात्रै परिवर्तन गर्ने निर्णय गरिएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।