सोमबार दिउँसो करिब २ बजेतिर बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही हात रिपार्टको झोला बोकेर पालो कतिबेला आउला भनेर आँखा डुलाइरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए । अस्पतालको पहिलो तल्लाको रुम नं १०२ बिरामीका आफन्तहरु रिपोर्टको व्यग्र प्रतिक्षामा थिए ।
त्यही भीडमा थिए प्रकृति चन्दका काका र काकी । भतिजीको उपचारका लागि आएका उनीहरुको मुहारमा त्यो निरासापन झल्किएको थियो । उनीहरुसँगको कुराकानीका क्रममा रातो कुर्ता सुरुवालमा सजिएकी एक महिला आइपुगिन् ।
अनुहारमा पीडा, हतास र संशयसहित उनी हातिरिँदै प्रकृतिका काका र काकी नजिकै आइन्। उनी रहेछिन् प्रकृतिका आमा, भगवती शाही । आइतबार कोहलपुर एनटिभी रोडकी १२ वर्षीया प्रकृति चन्दलाई विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएको थियो ।
विद्यालय हिंडेकी छात्रा अहिले अस्पताल भर्ना हुन पुगेकी छन् । आफूलाई के हुँदैछ भन्नेमा उनी स्वयंम अनभिज्ञ छिन् ।
‘त्यो भयावह दुर्घटना नभएको भए अहिले प्रकृति साथीहरुसँग रमाइरहेकी हुन्थिन् होला, आफ्नो गृहकार्य गरिरहेकी हुन्थिन् होला । कक्षामा सधैझैं अनुशासित भएर पढिरेहेकी हुन्थिन् होला’, प्रकृतिका काकाले भने । जब बत्तिएको ट्रकले उनलाई सोहेरेर लग्यो, त्यसयता उनी अस्पतालको बेडमा हल न चल लडिरहेकी छन् ।
यो दर्दनाक घटनाले उनलाई मात्र होइन उनको सपना पनि सोहोरेर लगेको छ, खुशी खोसेको छ । दर्दनाक दुर्घटनाले प्रकृतिको गुमेको खुट्टा त फर्केर आउने छैन तर उनमा आत्मविश्वास र आत्मबल गुम्न नदिनको लागि बलियो भएर बसेका छन् प्रकृतिको परिवार । विशेषगरी उनकी आमा ।
जब उनले आफ्नो खुट्टा गुमाएको थाहा पाउँलिन् त्यो क्षण कस्तो होला ? उनले आफूले कसरी स्वीकार गर्लिन् रु मानसिक आघातबाट गुज्रिरहेकी उनी फेरि कहिल्यै सुरक्षित तरिकाले विद्यालय जान पाउँलिन् ? एक दिनमा नै उनको जीवन कायापलट भएको छ । के फेरि प्रकृतिको जीवनमा पालुवा पलाउँला त ? कान्तिपुर दैनिकमा खबर छ ।