राजीनामा दिने तयारीमा उपसभामुख, को बन्ला सभामुख ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् । संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन् ।

उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ । यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ । सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन् । त्यही कारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो । सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ ।



संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको स्रोतले बतायो । स्रोतका अनुसार ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् ।

नेम्वाङले आफू सभामुखको दौडमा नरहेको अभिव्यक्ति दिएपछि दुवै अध्यक्षले आफूहरुले निर्णय गर्ने र त्यसबारे केही पनि नबोल्न नेम्वाङलाई भनिसकेको स्रोतले जनायो । पूर्वमाओवादीका नेताहरू पनि सभामुखको दौडमा छन् । अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेको नेकपा स्रोतले बतायो । उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी छाडेकी छैनन् ।

सम्बन्धित समाचार