-नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।
चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने नयाँ रियलिटी शो लिएर दर्शक माझ आउने भएका छन् । न्यूज २४ बाटै प्रसारण हुने सो रियलिटी शोको नाम द लिडर दिइएको छ । हालै को बन्छ करोडपति कार्यक्रम संचालनमा ल्याएको बीएसआरबीएन मिडियाले यो रियलिटी शोको संचालन गर्न लागेको हो । कार्यक्रम मार्फत देशका लागि केही गर्ने उर्जा तथा इच्छाशक्तिले भरिपूर्ण प्रतिभालाई ‘द लिडर’ मार्फत अगाडि ल्याइनेछ ।
राजधानीमा अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रस्तोता रवि लामिछानेले देशको माटो सुहाउँदो कार्यक्रम संचालनमा ल्याउन लागिएको बताए । भाषण मात्रै होइन भिजन पनि प्रदर्शन गर्न सक्ने व्यक्तिलाई ‘द लिडर’ ले दर्शकमाझ चिनाउने लामिछानेले बताए । हाम्रो समाज र हाम्रो पुस्ताले सोंचेको अनि खोजेको लिडर जन्माउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने लामिछानेले बताए ।
देश तथा विदेशमा अडिसन मार्फत १०० जनालाई काठमाडौं ल्याएर कार्यक्रम अगाडि बढ्ने बताइएको छ । कार्यक्रमका विजेताले काठमाडौंमा अपार्टमेन्ट, गाडी र नगद रु. २० लाख पाउनेछन् । विजेताले राष्ट्रिय राजनीतिमा सहज प्रवेशको अवसर पाउने आयोजकको विश्वास रहेको छ ।
कार्यक्रममा जजको रुपमा पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र पूर्व पत्रकार तथा साझा पार्टी नेपालका संयोजक रविन्द्र मिश्र रहेका छन् । कार्यक्रममा कुल ५ जना जज रहने भएपनि २ जना दर्शकको अनुरोध अनुसार राखिने आयोजकले बताएको छ ।
कार्यक्रममा बोल्दै डा. भट्टराईले यस कार्यक्रमले जनतामा चेतना अभिवृद्धि गर्ने बताए । हिजोका नेताहरुलाई सरापेर मात्र देश नबन्ने भन्दै देशलाई कस्तो नेता चाहिन्छ भन्ने बारे पनि जनतामा कार्यक्रमले सन्देश दिने बताए । राजनीति भनेको भिजन र सेवा हो यसलाई कमाउने भाँडो बनाउनु हुँदैन, डा भट्टराईले भने ।
त्यसैगरी अर्का जज सुशीला कार्कीले राजनीतिमा पनि तालिमको आवश्यक हुने भन्दै यो कार्यक्रमले राजनीतिमै भविष्य बनाउन चाहनेहरुलाई थप शिक्षा दिने बताइन् । आफू न्यायाधीश पनि भएकोले कार्यक्रममा पनि न्यायाधीशको भूमिका खेल्ने उनको भनाई थियो । पैसा र पावरकै भरमा निर्वाचन जित्ने प्रवृत्तिलाई यस कार्यक्रमले चिर्न सहयोग गर्ने उनको भनाई थियो ।
त्यसैगरी कार्यक्रमका अर्का जज रविन्द्र मिश्रले देशको मूल नीति नै राजनीति भएकोले राजनीतिलाई शुद्ध नगरी देशको आमूल परिवर्तनको कल्पना गर्न नसकिने बताए । अन्य रियलिटी शोहरु विदेशबाट नेपाल प्रवेश भैरहेको परिप्रेक्ष्यमा ‘द लिडर’ नेपालमा चर्चित हुँदै विदेशसम्म प्रवेश गर्ने अपेक्षा आफूले लिएको बताए । ‘द लिडर’ ले इमान्दारिता, क्षमतावान र दूर दृष्टि भएका साथै नेता मात्र नभई राजनेता बन्न सक्ने क्षमता भएका व्यक्तिलाई जनतामाझ पेश गरिने बताए ।
यो कार्यक्रम न्यूज २४ टेलिभिजनका साथै रमाइलो टिभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । कार्यक्रमलाई एसआरबीएन मिडिया प्रा.लि.ले एरो प्रोडक्सन प्रालिको सहकार्यमा संचालनमा ल्याउन लागेको हो ।