महाधिवेशको एजेन्डालाई केन्द्रीय समितिमा पेस गर्नुपर्ने माग राख्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् । देउवाले केन्द्रीय समिति बैठकमार्फत पार्टीका रिक्त विभाग, कार्यसम्पादन समिति, नेविसंघसहितका भ्रातृ संस्थालाई नेतृत्व दिने तयारी गरेपछि पौडेल समूह असन्तुष्ट रहँदै आएको छ ।
सो समूहले कार्यसमितिको म्याद सकिन लागेका बेला महाधिवेशनको तयारी गर्नुपर्नेमा महाधिवेशन टार्ने षड्यन्त्रमा सभापति लागेको भन्दै गत बिहीबार बोलाइएको केन्द्रीय समिति बैठक बहिष्कार गरेको थियो ।
बैठक बहिष्कारको अवस्थामा असन्तुष्ट समूह पुगेपछि शनिबार सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर वरिष्ठ नेता पौडेललाई मनाउन बोहोराटारस्थित उनको निवास पुगेका हुन् ।
सो भेटमा सभापति देउवालाई आफूले महाधिवेशनको एजेन्डालाई बैठकमा ल्याउन आग्रह गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए ।
‘सभापतिजीलाई मैले पहिले पनि महाधिवेशनको एजेन्डा बैठकमा ल्याउनुस् भनेको हो, फेरि पनि त्यही भनेको छु । पार्टीलाई मिलाएर लैजाने दायित्व सभापतिको हो, त्यसका लागि उहाँले सबैको कुरा सुन्नुपर्छ,’ पौडेलले भने, ‘यो बेला सभापतिले संयमतापूर्वक र उदारतापूर्वक निर्णय गर्न सक्नुपर्छ ।’
देउवा र पौडेलबीचको छलफलपछि पार्टीभित्र देखिएका समग्र विषयको विवादबारे सहमति खोज्न भन्दै संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाइएको छ ।
कांग्रेस उच्च स्रोतका अनुसार समितिले वर्तमान केन्द्रीय समितिको म्याद थप गर्नेबारे उच्च तहमा छलफल गर्ने र कति समय थप गर्ने भन्नेबारे सहमति जुटाएर महाधिवेशनको एजेन्डालाई बैठकमा पेस गर्ने तथा त्यसपछि कार्यतालिका ल्याउने सहमतिमा रिक्त विभाग, तरुण दल, र नेतृत्व विहिन रहेको नेविसंघ गठनका विषयमा छलफल भइरहेको छ ।
वार्ता समिति गठन भएपछि शनिबार साँझ उपसभापति निधि र पूर्वमहामन्त्री सिंहबीच सिंह निवास चाक्सीबारी, ठमेलमा विवाद समाधानबारे छलफल भएको थियो । छलफल सकारात्मक दिशामा अघि बढेको र पुनः बैठक बसी निर्णयमा पुगिने पूर्वमहामन्त्री सिंह निकट स्रोतले जनाएको छ भन्ने समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।