थम्मन थापा
बागलुङ, ३० मंसिर
रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका ११ रिघाको हीरक महोत्सव सम्पन्न भएको छ । हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर पुनले जानकारी दिए । ‘प्रविधियुक्त गुणस्तरीय शिक्षा, सुदृढ भौतिक पुर्वाधार हाम्रो ईच्छा’ भन्ने मुल नाराका साथ विद्यालयले मंसिर २५ गतेदेखि स्वर्ण महोत्सव आयोजना गरेको थियो ।
संकलित रकमबाट विद्यालयले समयसापेक्ष गुणस्तरीय शिक्षा र प्रविधि मैत्री शिक्षा प्रदान गर्ने मुख्य उद्देश्य राखेको प्रधानध्यापक ताराबहादुर पुनले बताए ।
हीरक महोत्सवको समापन समारोहमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगरको तर्फबाट विद्यालयलाई प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न भवन र खेलमैदान निर्माणको लागि नगद रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । नगर प्रमुख गैरेले विद्यालय शिक्षालाई समय सापेक्ष र जीवन उपयोगी बनाउनुपर्ने बताउदै गलकोट क्षेत्रको विद्यालय शिक्षालई प्रभावकारी बनाउन नगरपालिकाले विशेष योजना लागु गर्ने बताए ।
स्थानीय सरकार र प्रदेश सरकारको अस्तित्व नरहने गरी केन्द्रीय तहबाट बजेटको विनियोजन हुनुले समृद्धिको सपना सपनामा नै सिमित रहने उल्लेख गरे । उनले स्थानीय तहसँगको सहकार्यमा योजनाको प्राथमिकीकरण गरी बजेट विनियोजन गर्न प्रदेश र संघीय सरकारलई आग्रह गरे ।
हीरक महोत्सवमा विद्यालयलई सहयोग गर्ने सहयोगदाता, जग्गादाता, चन्दादाता, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक कलकार, पत्रकारलाई सम्मान गरिएको थियो । महोत्सवमा पूर्व संविधान सभा सदस्य नरबहादुर पुन, गल्कोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी, गल्कोट नगरपलिका ६ का वडा अध्यक्ष नरबहादुर खत्री, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद गौतम, साविक रिघा गाँउ विकास समितिका पूर्व अध्यक्ष गाँगा भुजेल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, पूर्व प्रधानध्यापक हरि भण्डारीले मन्तव्य राखेका थिए ।