राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर टटुँडिखेलको अस्तित्व जोगाउनुपर्ने बताएका छन् । अकुपाइ टुँडिखेल अभियानको एक प्रतितिनिधिमण्डललाई पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा भेट्दै उनले सो विषयमा सरकार र महानगरले ठोस र प्रभावकारी निर्णय अविलम्ब गर्नुपर्ने सुझाव दिए ।
“टुँडिखेललाई हरियो चौरका रुपमा मात्र नभई सांस्कृतिक सम्पदाका रुपमा विकास गर्नुपर्छ, रङ्गशालादेखि रानीपोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण गर्नुपर्छ”, उनले भने ।
काठमाडौं शहरको स्वच्छता कायम राख्न, आपत्कालीन समयमा प्रयोग गर्न तथा देशकै गौरव बढाउने राष्ट्रिय कार्यक्रम गर्न टुँडिखेल उपयोगी हुने बताउँदै उनले टुँडिखेल संरक्षणका निमित्त सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
विजय श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देन, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेललगायतको सहभागिता रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।