नागरिकहरूमा संस्कारको विकास एकाएक हुँदैन : मन्त्री बस्नेत

संस्कार समाज नेपालले समृद्ध राष्ट्र निर्माणको महाअभियान अन्तर्गगत देशव्यापी जनचेतनामूलक सरसफाई महाअभियानको थालनी गरेको छ । मङ्गलबार काठमाडौंको सामाखुसीमा आयोजित एक विशेष समारोहका बीच वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उक्त अभियानको उद्घाटन गरेका थिए । उक्त अभियान अन्तर्गत अबदेखि ‘प्रत्येक महिनाको १ गते बिहान ८ बजे १ घण्टा १ सय मिटर’ देशव्यापी जनचेतनामूलक सरसफाई अभियान गरिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नागरिकहरूमा संस्कारको विकास एकै पटक नहुने तर यसरी अभियानमार्फत सबैमा जनचेतना अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरे । उनले अघिल्ला पुस्ताहरूले गरेका यस्ता सकारात्मक कामहरूबाट भावी पुस्ताहरूले केही सिक्नु पर्ने धारणा राखे । साथै, राष्ट्र निमार्णको देशव्यापी जनचेतनामूलक सरसफाई महाअभियानमा आफ्नो पनि सर्मथन रहेको जनाउदै मन्त्री बस्नेतले देश निर्माणको लागि भएका यस्ता अभियानमा सबै लाग्नु पर्ने बताए ।



संस्कार समाज नेपालका अध्यक्ष तथा उक्त अभियानका मुख्य अभियान्ता पशुपति गुरूङले संस्कार समाज नेपाल विगत तीन वर्षदेखि नागरिकहरूमा जनचेतना अभिवृद्धि गर्न नागरिकहरूसँगै जोडिएका विषयहरूलाई उठाउदै आएको स्मरण गराउदै अबको अभियानले पनि सार्थकता पाउछ भन्नेमा आफू ढुक्क भएको बताइन् । अहिले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालको लक्ष्य हासिल गर्न सरकारको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै अध्यक्ष गुरूङले यसमा सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने बताइन् । साथै, उनले संस्कार समाज नेपालले शुरूवात गरेको देशव्यापी जनचेतनामूलक सरसफाई अभियानले भ्रमण वर्ष २०२० लाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

‘असल संस्कार सिकौं सिकाऔं, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले केही समयअघि यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारी साधनमा जनचेतनामूलक सामग्री सहितको पेनड्राइभ वितरण गरेको बताउँदै अध्यक्ष गुरूङले विभिन्न समयमा विविध प्रकारका सामाजिक कार्यहरू गर्दै आइरहेको संस्कार समाज नेपालसँगै हातेमालो गरी साथ दिन अहिले विभिन्न संघ–संस्था, विद्यालय र कलेजहरू पनि जोडिएको समेत जानकारी दिइन् ।

सम्बन्धित समाचार