नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ । २९ गतेबाट जारी रहेको बैठकमा मंगलबार सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताए । ४ गते संसद आह्वान भएको अवस्थामा छिटो निर्णय गरेर जानुपर्ने धारणा बैठकमा व्यक्त भएको उनको भनाइ छ ।
नेता रावलले पार्टीभित्र देखिएका गुट उपगुटहरु अन्त्य गरी केन्द्रीय कमिटी बैठकसम्म सबै एकरुप भएर अगाडि बढ्नुपर्ने धारणा सदस्यहरुले राखेको बताए ।
मंगलबारको बैठकमा २ जना आमन्त्रित सदस्यसमेत गरी १४ जनाले आफ्नो विचार राखेका थिए । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनमाथि सदस्यहरुले आलोचनात्मक टिप्पणी राखेको प्रवक्ता नारायणकाजी श्रेठले बताए ।
बैठकमा उठेका कतिपय विषयहरुमा बैठकपछि पनि छलफल गर्न सकिने विचार व्यक्त भएको उनले बताए । मंगलबार केन्द्रीय कमिटी बैठकमा आमन्त्रित सदस्यहरु नन्द कुमार प्रसाईं र विष्णुप्रकाश श्रेष्ठले आफ्नो धारणा राखेका थिए। प्रसाईं केन्द्रीय सल्लाहकार कमिटी र श्रेष्ठ निर्वाचन आयोगका अध्यक्षका अध्यक्ष रहेका छन् ।
त्यसैगरी सुरेन्द्र पाण्डे, अमृत बोहरा, वेदुराम भुसाल, शंकर पोखरेल, केशव बडाल, रघुवीर महासेठ, लेखराज भट्ट, मणि थापा, जनार्दन शर्माले विचार राखेका थिए । बैठक बुधबार बिहान ११ बजे फेरि बस्नेछ ।