नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिरहेका छन् । सोमबार दिउँसो स्थायी कमिटी बैठक सुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो ।
स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष दाहालबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीभित्र गुट मौलाउँदै गएकाले छुट्टै भेला गर्ने, बैठक गर्ने जस्ता कार्य बन्द गर्नुपर्छ भनेर उल्लेख भए पनि उनैबाटै त्यसको उल्लंघन भएको छ ।
आफैंले तयार पारेका प्रतिवेदनलाई चुनौती दिँदै दाहाल स्वंयले पूर्वमाओवादी खेमाका नेतालाई निवासमा बोलाएर बैठक गरेको स्रोतले जनाएको छ । यस विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कुनै जानकारी दिइएको छैन । स्वास्थ्यका कारण ओली स्थायी कमिटी बैठकमा उपस्थित भएका छैनन् ।