विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम लिने बित्तिकै नेपालीहरु आफूलाई निकै गौरवान्वित महसुस गर्छन् । अब नेपालीहरुको गौरव अझै बढ्ने भएको छ । अब नेपालको सगरमाथा र लागीगुराँसलाई विश्वले अझै नजिकबाट नियाल्ने भएका छन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयू)ले एउटा तारा र त्यसलाई घुम्ने ग्रहको नाम ‘सगरमाथा’ र ‘लालीगुराँस’ राखेको छ।
फ्रान्सको पेरिसमा मंगलबार आईएयूले स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली नामबाट तारा र ग्रहको नामाकरण गरेको हो । यसअघि आईएयूले नेपाललाई एउटा तारा र ग्रहको नाम नेपाली नामबाट राख्ने अवसर दिएको थियो।
नाम छनोटको लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सुरेश भट्टराईको अध्यक्षतामा ५ सदस्यीय टोली बनाएको थियो। नाम राख्नका लागि सोसाइटीले आफ्नो बेवसाइटमार्फत् नाम सिफारिस गर्न आह्वानसमेत गरेको थियो।
सोसाइटीले गएको अगस्ट ३१ मा ४७६ ग्रह र ताराका नाम प्राप्त गरेको थियो । त्यसमध्ये बाट सोसाइटीले पाँच–पाँच वटा नाम छनोट गरी आइएयूलाई बुझाएको थियो । सोसाइटीले गोर्खा, सगरमाथा, अरनिको, गौतम बुद्ध, जानकी, भृकुटी, यति, लालीगुराँस, डाँफे, कुमारी जस्ता दश वटा नाम पठाएको थियो ।
त्यसबाट पनि आईएयूले विभिन्न चरणमा छनोट गरी मापदण्ड पूरा भएका र चित्त बुझ्दो विश्लेषणका आधारमा लालीगुराँस र सगरमाथा छनोट गरेको थियो ।
आइएयुले ११२ वटा राष्ट्रलाई नामाकरण गर्न ग्रह र ताराहरू छुट्टाइदिएको थियो। जसबाट नेपालको लागि एचडी १००७७७ वैज्ञानिक नाम भएको तारा (सगरमाथां) र त्यसलाई घुम्ने एचडी १००७७७ ‘बी’ नामक ग्रह (लालीगुराँस)को नामाकरण गर्न दिइएको थियो।
यी तारा र ग्रह सम्बन्धित राष्ट्रका राजधानीबाट टेलिस्कोपको माध्यमले देख्न सकिने एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।