सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (बुधबार) बिहान ११ बजे बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा आज पनि स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा धारणा राख्दैछन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले चार दिनदेखि जारी स्थायी कमिटी बैठकमा यी दुई प्रतिवेदन र प्रस्ताव छलफलका लागि पेश गरेका छन् । स्थायी समितिको हिजोको बैठकमा पनि स्थायी कमिटी सदस्यहरुले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गरेका थिए ।
अधिकांश सदस्यहरुले पार्टी एकतालाई थप सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित बनाउनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । बैठकमा बोल्न बाँकी सदस्यहरुलाई आज आफ्नो धारणा राख्न दिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आज बाँकी सदस्यहरुले बोल्ने क्रम सक्ने नेकपाको तयारी छ । सदस्यहरुले उठाएका सवालहरुलाई अध्यक्ष प्रचण्डले भोली सम्बोधन गर्नेछन् ।