बिना टायर सडकमा दौडाए कार, अनि के भयो ?

रक्सी स्वास्थ्यका लागि त हानिकारक हुन्छ नैै । तर, आवश्यकता भन्दा बढी खाइयो भने यो सामाजिक रुपमा पनि बेफाइदाजनक हुन जान्छ । यस्तै एउटा घटना बेलायतमा भएको छ ।

बेलायतमा एक व्यक्तिले यती रक्सी पिए कि उनले आफूले बिना टायर कार चलाएको समेत थाहा पाएनन् । बेलायतको साउथ योर्कशायर प्रहरीले रोथरह्यामको नराम्ररी क्षतिग्रस्त कारको बारेमा थाहा पाएपछि ड्राइभरलाई गिरफ्तार गरेको छ ।



ट्वीटरमा सिल्भर कारको तस्बिर पोष्ट गर्दै प्रहरीले लेखेको छ,‘ड्राइभरसँग बीमा वा वैध लाइसेन्स थिएन । उनी यो भन्दा अगाडिका अपराधका लागि दुई पटक अदालतमा प्रस्तुत हुन पनि असफल भएका थिए । बेलायतमा मादक पदार्थ सेवन गरेर ड्राइभिङ गर्नेलाई ६ महिनाको कैदको सजाय छ । साथै १ वर्षका लागि ड्राइभिङमा प्रतिबन्ध र असीमित जरिवाना पनि हुन सक्छ ।’

योर्कशायर प्रहरीले ट्वीटमा लेखेको छ,‘यो कार फेला परेपछि ड्राइभरलाई गिरफ्तार गरिएको छ । उसँग ड्राइभिङ लाइसेन्स तथा बीमा पनि थिएन । जब उनी कार चलाइरहेका थिए, उनी यती नसामा थिए कि उनका कारको एक टायर समेत हराइसकेको कुरा उनले थाहै पाएनन् ।’

प्रहरीले ट्वीटरमा राखेको तस्बिरमा अगाडिको टायर गायब भएको स्पष्ट देख्न सकिन्छ । यो ड्राइभिङका कारण कुनै दुर्घटना नभएको विषयलाई भने राम्रो मान्न सकिन्छ ।

यद्यपि यो घटना यो वर्षको पहिलो भने होइन । जुलाईमा बेलायतको नर्थ वेस्ट मोटरवेमा प्रहरीले बिना टायरको कारको एक अर्को तस्बिर ट्वीट गरेको थियो ।

सम्बन्धित समाचार