नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरे ।
छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूगोलका लागि उपयुक्त मानिन्छन् । नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी विमानबाट महत्वपूर्ण योगदान पुुग्नेछ । अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो सबैभन्दा ठूलो सुरक्षा अनुदान हो ।
दुई हजार ३०० केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ । निकै शक्तिशाली इञ्जिन जडान भएका यीे विमानले नेपालको मनाङमा पनि उडान भर्न सक्ने छन् ।
तीन चालक दलसहित १८ जना यात्रु क्षमताका यी विमान विपद्मा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूला खाले दुर्घटनामा घाइते उद्धार र कहिलेकाहीं विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ । दुुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीका लागि पनि यी विमान प्रयोग गरिने बताइएको छ । यी दुई विमानको मूल्य करिब एक करोड ५० लाख अमेरिकी डलर रहेको जानकारी दिइएको छ ।