नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच बुधबार दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका नेताहरुबीच भएको वार्तापछि माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका क्रममा चार सिटका लागि सहमति भएको हो ।
सहमति अनुसार प्रदेश नम्बर २ को राष्ट्रिय सभा निर्वाचनका लागि रिक्त हुने स्थानमध्ये अन्य पुरुष समूह र अपांगत भएका व्यक्ति वा अल्पसंख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने भएको छ। त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपालाई सघाउने भएको छ ।
दुई दलबीच राष्ट्रिय राजनीतिका विषयमा नियमितरुपमा छलफल गर्ने र सहकार्यलाई अघि बढाउने अर्को सहमति पनि भएको छ । सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
नेकपा र राजपन नेपालबीच भएको दुई बुँदे सहमतिले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने तयारी गरिरहेको थियो । त्यसका लागि समाजवादीका अध्यक्षद्वय डा।बाबुराम भट्टराई र उपेन्द्र यादवले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एकचरण कुराकानी पनि गरिसेका थिए ।
अध्यक्ष प्रचण्डले राष्ट्रसभामा तालेमल गर्ने आवश्वासन पनि दिएका थिए । प्रचण्डले ‘त्यसका लागि पछि छलफल गरौला’ उनीहरुलाई उनले भनेका थिए ।प्रचण्डसँग छलफल गरेर उपेन्द्र यादव बंगलादेशको भ्रमणमा निस्के । उनी उता उडेपछि यता अर्कै खिचरी पाक्न थाल्यो ।
त्यति मात्र होइन, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसँग पनि यो कुरा राखेका थिए । आगामी फागुन २० गतेसदेखि राष्ट्रिय सभाका १९ जना सदस्यहरुको दुई वर्षे कार्यकाल सकिँदैछ। त्यसका लागि माघ ९ गते निर्वाचन हुने तालिका सार्वजनिक भइसकेको छ। रिक्त १९ मध्ये एकजना चाहिँ राष्ट्रपतिबाट मनोनित हुनेछ।