राष्ट्रिसभाको निर्वाचन कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेसँगै राष्ट्रियसभाको निर्वाचनका लागि दलहरु आन्तरिक तयारीमा जुटेका छन् । यो निर्वाचनबाट सबैभन्दा घाटा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लाग्ने भएको छ ।
हाल राष्ट्रियसभामा १३ सीट रहेको नेपाली कांग्रेसको ७ सीट घट्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सहकार्य गरेसँगै नेपाली कांग्रेसको ७ सीट घट्ने निश्चत हुन पुगेको छ । त्यो ७ सीट अब नेकपाको भागमा पर्ने भएको छ ।
राष्ट्रियसभामा हाल ५९ जना सदस्यहरु रहेका छन् जसमध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० गते सम्म रहेको छ ।
यसैबीच निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने आयोगले बताएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन र प्रकाशित नामावली उपर दाबी विरोधको उजुरी पुस १७ गते, उजुरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन पुस १९ गते, उम्मेदवारी दर्ता र नामावली प्रकाशन २० गते हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उम्मेदवारको विरोधमा सूचना दिने पुस २१ गते, मनोनयनपत्र उजुरी उपर जाँचबुझ गरी निर्णय लिने २२ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २३ गते, उम्मेद्वारको नाम फिर्ता लिने २४ गते, अन्तिम नामावली प्रकाशन पुस २५ गते र मतदान माघ ९ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने आयोगले कार्यतालिका बनाएको छ ।