पसल फोडेर चोरले प्याज लिए, पैसा लिएनन्

नेपालमा प्याजको भाउ दिनदिनै उकालो लागिरहेको छ। भाउ बढेर एक किलोकै २३० रुपैयाँ पुगिसक्यो । प्याजको भाउ बढेको नेपालमात्र भने होइन । छिमेकी भारत र बंगलादेशमा पनि प्याजको भाउले आकाश छोएको छ। प्याजको भाउ यति बढेको छ कि चोरले पनि पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन् ।

भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा त्यस्तै घटना भयो । एक सब्जी पसल फोडेर चोरले प्याज चोरे तर छेउकै गल्लामा भएको पैसा छुँदा पनि छोएनन् ।



पसलका साहु अजय दास मंगलबार बिहान पनि सधैझैं आफ्नो पसल खोल्न गएका थिए। तर त्यो दिन पसलमा तरकारी छरपस्ट थिए।

पसलको हालत देख्नबित्तिकै अजयले चोरी भएको अनुमान लगाए र आफ्नो पैसा गन्न थाले । गल्लामा भएको पूरै पैसा ठीक थियो ।

पछि उनले पसलबाट केही प्याजका बोरा गायब भएको थाहा पाए । ती चोरले ५० हजार मूल्य बराबरको प्याज, लसुन र अदुवा चोरेका थिए ।

भारत सरकारले प्याजको मूल्यबृद्धि हुन थालेपछि सीमित मात्रामा वितरण गर्न थालेको थियो । सरकारले प्याज किन्न पनि सीमा तोकेपछि चोरीका घटना हुन थालेका हुन् । भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पर्छ ।

सम्बन्धित समाचार