पाटन उच्च अदालतले जबरजस्ती करणी उद्योगमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि रिहा गर्न अस्वीकार गरेको छ । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराको जेल बसाई अझै लम्बिने भएको छ ।
पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर मुद्दामा सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीस टेकनारायण कुँवरको इजलासले सुरुकै आदेश सदर गरेको उच्चका प्रवक्ता मोहन सुवेदीले जानकारी दिए ।
जिल्लाकै आदेश सदर भएसँगै महरा अब मुद्दा टुंगो नलागुञ्जेल थुनामै रहनेछन्। पछिल्लो केही दिनयता काठमाडौं जिल्ला अदालतमा महराको बकपत्र पनि चलिरहेको छ । जिल्ला अदालत काठमाडौंले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी हाल डिल्लीबजार कारागारमा रहेका छन् ।
संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामै पुगेर बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरी मुद्दा चलाएको हो।