दुर्गम गाउँमा नमुना कृषि उत्पादन : यातायात असुविधाले कृषक चिन्तित

कृषि उत्पादन निकै राम्रो छ, किसानहरू निकै मेहनत गर्छन तर कृषि जन्य वस्तुहरू यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरूको हो । विसं २०५२ सालपूर्व यहाँका कृषकहरू परम्परागत निर्वाहमुखी खेती किसानी गर्दथे । कोदो, मकै, गहुँ छरेर जीवन निर्वाह गरेका कृषकलाई २०५२ सालको बाढी पहिरोले नयाँ मोड दियो ।

विसं २०५२ साल असारमा बरेखानीमा आएको ठूलो बाढी पहिरोले बारीमा क्षति पुर्यायोे । त्यसपछि किसानहरूले परम्परागत कृषिलाई छोडेर नगदे बालीतर्फ आकर्षित हुँदै आधुनिक कृषि प्रणाली अबलम्बन गरे, जसको फलस्वरूप उनीहरूको जीवन स्तर अहिले माथि उकासिएको छ । तर, सडक अभावमा उत्पादित कृषिजन्य वस्तुले बजार पाउन नसक्दा भने त्यहाँका किसानहरू चिन्तित छन् ।



गाउँको केही तलसम्म सडक ट्रयाक खोलिएको छ तर गाडी नहुँदा किसानहरू उत्पादित वस्तु डोकोमै बोकेर झण्डै डेढ घण्टाको पैदल यात्रा गरी मध्यपहाडी लोकमार्गको बाँसखोलासम्म पुर्याउन बाध्य छन् ।

गाउँमा कृषि सम्वन्धि प्राविधिक ज्ञानको अभाव, कृषि जेटिए उपलब्ध नहुनु र मोटरबाटोको असुविधाले तरकारी खेती गर्न समस्या भइरहेको किसानहरूको भनाई छ । बरेखानीले तरकारी खेती र फलफुल उत्पादनको गाँउको परिचय बनाएको छ । कडा मेहनत र अथक परिश्रमले उनीहरूको मुख्य आम्दानीको श्रोत र जीविकोपार्जनको माध्यम पछिल्लो समय तरकारीखेती नै रहेको अगुवा कृषक लिलाम्बर गौतमले बताए ।

त्यहाँका युवादेखि वयोवृद्ध उमेर समूहका किसानहरूसम्म बिहान सबेरैदेखि बेलुकीसम्म आफ्नै बारीमा व्यस्त हुने गर्दछन् । त्यहाँ उत्पादित तरकारीहरू काउली, गाजर, मुला, बन्दालगायतका वस्तुहरू स्थानीय हटिया बजार, हरिचौर बजार, बाँसखोला, नरेठाँटी, दुदिलाभाटी, काँडेबासलगायतका बजार र गलकोट क्षेत्रका गाउँ गाउँमा पुग्ने गरेको छ । उक्त गाउँ तरकारी खेतीको प्रचुर सम्भावना रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्ने गलकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तेजबहादुर थापाले बताए ।

नगरपालिका भएपनि दुर्गम जस्तो लाग्ने बरेखानीमा विद्यालयसमेत छैन । २०४० सालमा स्थापना भएको प्राथमिकक विद्यालय विद्यार्थीको अभावमा चार वर्षअगाडि बन्द भइसकेको छ । पैदलयात्रा मार्फत् गाउँ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समयभन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो छ । त्यहाँ प्रत्येक घरमा व्यावसायिक मौरीपालनसमेत गरिदैं आइएको छ । बजार पठाउन सडक भए यहाँका कृषकहरूले वार्षिक लाखौ आम्दानी गर्ने युवा कृषक मित्रलाल गौतमले बताए ।

सम्बन्धित समाचार