नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी सचिवालयको निर्णयमा विमति कायमै राखेका छन् । उनले पार्टी नेतृत्वले आफूलाई किनारा लगाउन खोजेको भन्दै आपत्ति जनाउदै आएका छन् । कम्युनिस्ट पार्टी विधान, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएको र सचिवालयले आफ्नो असहमतिविपरीत निर्णय गरेको नेता नेपालको भनाइ थियो ।
विधानविपरीत दोहोरो जिम्मेवारी अन्त्य गर्नुपर्ने, कसैलाई खातैखात, कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित हुँदैन भनेर आफूले पटकपटक विषय उठाएकाले त्यसमा असहमति कायमै रहेको नेपालको भनाइ थियो ।
नेपालले पार्टी कमिटीदेखि पार्टी निकट सामाजिक संघसंस्थामा समेत समानान्तर कमिटी बनाउने र आफूलाई किनरा लगाउने नीति लिएको भन्दै नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका थिए । आलोचना गर्नेलाई पूर्वाग्रही ढंगले निषेध गर्ने परिपाटी चलेको भन्दै उनले त्यसलाई सुधार गर्न आग्रह गरे ।