नेपालको राष्ट्रिय राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भिम रावल एक चर्चित नाम हो । पछिल्लो समय सत्यको वकालत गर्दै आउँनु भएका रावल पार्टी भन्दा माथि उठेर धारणा राख्ने गर्नुहुन्छ । उहाँले राष्ट्रियताको सवालमा उठाएका कुराहरु जनताले खुबै रुचाएका छन् ।
यस्तै लामो समय नेपालमाथि नाकाबन्दी लगाएको आरोप लागेका राजपा नेताहरुसँग नेकपाले सहकार्य भनेपछि रावल भड्किनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभाको चुनावमा राष्ट्रिय जनता पार्टीसँग तालमेलको निर्णय गरेको छ । उहाँले हिजो भएको स्थायी कमिटी बैठकमा आक्रोश व्यक्त गर्नुभएको हो । एक कविता सुनाउँदै उहाँले नेतृत्वमाथि गम्भीर प्रश्न उठाउनु भएको हो । यस्तो छ उहाँको कविता:
अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनी यो दियो
धुम्रबाराहीमा एउटा अभ्यास गरिँदै थियो
एक्कासि धुवाँको मुस्लो बालुवाटारमा उठ्यो
आशाको धिपधिपे पट्ट पानीको फोकाझैँ फुट्यो
रक्तिम झण्डाको आडमा समाजवाद खोजिँदै थियो
त्यही झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो
अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो ?
विधि र पद्धति भन्ने क्षणभरमा नै धुलो भयो ।
सत्ता–धन सबैथोक भए चाहियो साम्यवाद किन ?
शीर्ष भनी कहलिने नेता हो, इमानले भन ।
सिद्धान्त, वर्ग, विधिका डम्फु बजाइराख्न सबै छोडौँ
जहाँ पाइन्छ सत्ता, धन, यो जीवन त्यहीँ नै जोडौँ !