कानूनको शासनका लागि अपराध अनुसन्धान स्वतन्त्र हुनुपर्छः प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष र सुदृढ अनुसन्धान आवश्यक रहेको बताएका छन् । महान्यायधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’ मा उनले अनुसन्धानकर्ता र अभियोजनकर्ताले सक्षमता र विश्वसनीयताका साथ अनुसन्धान गर्नुपर्ने बताए ।

“समाजमा न्याय र कानूनको शासनका लागि अपराध अनुसन्धान स्वतन्त्र, निष्पक्ष हुनुपर्छ”, उनले भने । फौजदारी न्याय प्रणालीको मेरुदण्ड नेपाल प्रहरी भएको उनको भनाइ छ ।



प्रधानन्यायाधीश जबराले प्रविधिको विकास र अपराधको बदलिदो परिस्थितिमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको जनशक्ति र क्षमता अभिवृद्धिमा विकास गर्नुपर्ने बताए । एउटा निकायको सक्षमताले मात्र सुदृढ र सक्षम न्याय प्रणालीको गन्तव्य भेट्न नसकिने उनको भनाइ थियो ।

उनले गत वर्षदेखि लागू भएका संहिता कानूनहरु विस्तृत, जटिल र महत्वपूर्ण रहेकाले तिनको प्रयोगमा एकरुपता आवश्यक रहेको उल्लेख गरे । महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले सुदृढ फौजदारी न्याय प्रशासन मुलुकको समृद्धि र सुशासनको आधार भएकाले पीडितलाई न्याय र कसूरदारलाई सजाय दिलाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार